logo-img

मलको मूल्यमा आएको उतारचढावका कारण समयमै ल्याउन सकिएन : कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा संसदको कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । 

उनले नेपाली किसानलाई मल उपलब्ध गराउने विषय सबै राजनीतिक दलसमेतको साझा भएको बताए । उनले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको बताए । 



मन्त्री यादवले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा नै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव भएको जिकिर गरे । उनले समयमै मल आपूर्ति गर्ने ठेकेदारले मल ल्याउन नसकेकाले सरकारले ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारबाहीको प्रक्रियासमेत सुरु गरिएको बताए । 

मन्त्री यादवले साल्ट ट्रेडिङ कम्पनीले ल्याएको २० हजार मेट्रिक टन डिएपी, २२ हजार मेट्रिक टन युरिया असारको अन्तिम हप्तादेखि प्राप्त हुने सम्भावना रहेको दाबी गरे । जिटुजीको माध्यमबाट भारतबाट मल खरिद गर्नका लागि अहिले डेढ लाखमध्येमा ५० हजार मेट्रिक टन युरिया ३० हजार मेट्रिक टन डिएपी असारको अन्तिमसम्ममा आउने उनले दाबी गरे । 

युरिया, डिएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न दुईपटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको बताए । 



मन्त्री यादवले भारतसँग भएको जिटुजी प्रक्रिया पूरा गरेर असार मसान्तसम्म सरकारले मल उपलब्ध गराउने तयारीमा रहेको बताए । नेपालमा नै मल उत्पादन गर्ने उद्योग स्थापनाको लागि सरकारले अध्ययन गरिरहेको उनले बताए । 



  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार २२:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया