सरकारको प्राथमिकतामा द्रुतमार्ग र एयरपोर्ट छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए । 

प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एक अर्कासँग जोडिएको आयोजना भएको बताए । उनले दुवै आयोजना निर्माण नरोकिने बताए । देउवाले गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको प्रस्टाए ।

'विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो । त्यसैले दुवै आयोजना बन्नुपर्छ,' देउवाले भने, 'त्यसैले गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्यान्ड गराउने हो ।' 

प्रधानमन्त्री देउवासँगै आएका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको भन्दै विमानस्थल बनाउनु पर्ने बताए । समयमै विमानस्थल नबने राज्यको अर्बौँ लगानी खेर जाने प्रचण्डको भनाइ छ ।

प्रचण्डले देशको अर्थतन्त्रका लागि निजगढ विमानस्थल "गेम रेन्जर' प्रोजेक्ट रहेको र प्रधानमन्त्री पनि विमानस्थल निर्माणका लागि सकारात्मक देखिएको बताए । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए । उनले विमानस्थल द्रुतमार्गसँग जोडिएको बताए ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए । 





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १३:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया