नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन् ।
मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन् ।
उनले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताउनु भयो । नेतृ कोईरालाले संग्रहालय बनाउनसके नेपाली कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गरिन् ।
उनले भनिन्, ‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्युजियमको रुपमा बनाऔँ । त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न । विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ । हामीले म्युजियम बनायौँ भने यो नेपाली कांग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ ।’
नेतृ कोइरालाले नेपाली कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।