logo-img

पाटनमा ८० रुपैयाँ छाक खाना बेचेर जसले बनाए तीनतले घर

ललितपुरको पाटन ढोकाबाट करिब एक सय मिटर पश्चिमतिर युएन पार्क जाने बाटो छुट्टिन्छ । बाटो छुट्टिएसँगै युएनपार्कतिर जोड्ने बाटोमा लहरै केही साना व्यवसायीका सटर छन् । 

किराना, चिया, तरकारी पसलसँगै केही भोजनालय पनि जोडिएका छन् । भोजनालयको लहरमा ललित भोजनालय केही पृथक र फरक छ । ०६५ देखि निरन्तर सस्तो मूल्यमा ग्राहकलाई खाना खुवाएर मनग्य आम्दानी गर्नु एउटा उदाहरणीय काम हो । मिहिनेत र लगनशीलताले सफलता दिलाउँछ भन्ने गतिलो उदाहरण पनि बनेको छ भोजनालय सञ्चालक काजी लामा र उनकी श्रीमती प्यारीको जोडी । 



२०६५ भन्दा अगाडि काजी ड्राइभर थिए । सुरुमा उनले साना गाडी कुदाए । त्यसपछि उनले उपत्यकाभित्रका रुटमा बस गुडाए । ०६५ सम्म आइपुग्दा काजी ट्रक ड्राइभर बनिसकेका थिए । उनले पूर्वमा इटहरीसम्म ट्रक हाँकेर पुगेका छन् । त्यतिबेला काजीको तलब मासिक ३ हजार थियो । दैनिक एकदेखि डेढ सयसम्म भत्ता हुन्थ्यो । करिब १५ वर्षको गाडी चालक अनुभव भएका उनले सीमित तलबले सामान्य गुजारा चलाउनुभन्दा अर्काे उपलब्धि हुँदैन भन्ने ठानेपछि आफैंले केही गर्ने सोच बनाए । 

‘यतै व्यवसाय सुरु नगरेको भए अहिले खाडीमा हुन्थे होला । आफ्नै व्यवसाय गरेर छोरालाई मास्टर्ससम्म पढायौँ । इमाडोलमा घर बनायौं, जागिर खानुभन्दा व्यवसाय गर्नु राम्रो । विदेश जानुभन्दा नेपालमै केही गर्नु राम्रो लाग्छ,’ काजीले भने । ०६५ मा होटल सञ्चालन गर्दा ४० रुपैयाँमै खाना खुवाएको काजीकी श्रीमती प्यारीले बताइन् ।

‘होटल सञ्चालन गरेको १४ वर्ष पुग्दासम्म उनीहरूले खानाको मूल्यमा ४० रुपैयाँ वृद्धि गरेका छन्, सुरुमा ४० रुपैयाँमा खाना खुवाउँथ्यौँ । महँगी बढ्दै गएपछि ५० बनायौँ । ६०, ७० हुँदै अहिले दुई वर्षदेखि ८० रुपैयाँमा खुवाइरहेका छौँ । नयाँ आउने ग्राहकले निकै सस्तो भयो खाना भन्नु हुन्छ । कतिपयले टिप्ससमेत छोडेर जानु हुन्छ,’ प्यारीले भनिन् । 



सुरुमा ४० रुपैयाँमा खाना खुवाउँदा नाफा–घाटाको अनुभव लिनका लागि काम थालेको काजी बताउँछन् । ‘निकै प्रतिस्पर्धाको सहरमा व्यवसाय चलाउनै गाह्रो हुन्छ, सुरु गरे पनि टिक्नै गाह्रो हुन्छ । त्यही कुरालाई मनन गरेर केही फरक त गर्नु नै थियो । काम गर्ने परिवारका सदस्य नै थिए । ४० रुपैयाँमा खाना खुवाउँदा कस्तो हुँदो रहेछ भनेर काम सुरु गरियो । ठिकै कमाइ हुने भएपछि हामीले सस्तो मूल्यमै खाना खुवाइरहेका छौँ,’ काजी भन्छन्, ‘सुरुमा परिवारका सदस्य मिलेर काम गरेका थियौँ । अहिले दुईजना कर्मचारीलाई रोजगार दिएका छौँ ।’



दुईजना सहयोगी कर्मचारीको तलबलगायत सबै खर्च कटाएर दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्म बचत हुने उनको भनाइ छ । होटलबाटै कमाएको पैसाले काजी दम्पतीले ललितपुरको इमाडोलमा तीन तलाको घर पनि बनाएका छन् । उनीहरूका दुई सन्तानमध्ये छोरीको बिहे भइसक्यो । छोराले सेन्टजेभियर कलेजबाट डिग्री सकेर जागिर गर्दैछन् । 

खानामा मासुको सुप निःशुल्क !

काजीको होटलको मेनु यसैपनि सस्तो मूल्यले भरिएको छ । सादा खाना ८० र चिकेन खाना १३० रुपैयाँ । दही खाना ११० रुपैयाँमा पाइन्छ । सादा खाना मात्रै खाने ग्राहकलाई पनि कुखुराको सुप निःशुल्क चखाउँछन् काजीले । ‘अहिले बजारमा तरकारी र चिकेनको मूल्य उही भइसक्यो, तरकारीको भन्दा कुखुराको झोल केही स्वादिलो पनि हुन्छ, ग्राहक पनि खुसी हुन्छन् ।’

काजीको होटलमा दैनिक ३ सय जनाले खाना खान्छन् । तीमध्ये करिब २ सय जना साँझ बिहानै खाना खान आउने निरन्तर ग्राहक हुन् । धनगढीका सागर विष्टले पाँच वर्षदेखि काजीको ललित भोजनालयमा साँझबिहान निरन्तर खाना खाइरहेका छन् । 

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत खड्का भन्छन्, ‘यहाँका अंकल/आन्टी अभिभावक जस्तै लाग्नुहुन्छ । म सधैँ साँझ/बिहान करिब आधा किलोमिटर हिँडेर खाना खान आउँछु । विद्यार्थी जीवनमा कहिलेकाही पैसा हुँदैन । पैसा नहुँदा उधारोमै खाना खान्छौँ ।’ कोरोना निषेधाज्ञाको बेला पैसा र खाना पकाउने सामानको समस्या हुँदा काजीकै होटलबाट सामान लिएर होस्टलमा खाना पकाएर खाएको खड्का सम्झिन्छन् । 

‘लकडाउनको समयमा बैंकहरू पनि बन्द थियो । हामी नजिकै क्याम्पसको होस्टलमा बस्थ्यौँ, सबैतिर बन्द भयो । खाना पकाउने सामानको समेत अभाव हुँदा हामीले यतैबाट लिएर पकाएका थियौँ,’ उनले भने ।   

विष्टसँगै भोजनालय पुगेका कञ्चनपुरका चक्र भण्डारीले पनि यहाँको खानाको बारेमा केही बताए । ‘पाटन क्षेत्रमा खाना खाने ठाउँमध्ये सस्तोमा सबैभन्दा राम्रो खाना खान पाउने ठाउँ यही नै हो, यहाँ खाना मात्र सस्तो छैन । त्यत्तिकै स्वादिष्ट पनि छ,’ उनले भने ।

  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १७:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया