चीनबाट ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो, नेपालबाट १ रुपैयाँको वस्तु पनि निर्यात भएन
तातोपानी नाका / फाइल तस्बिर

चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्बाध रूपमा नेपालमा वस्तुहरू आइरहेको छ । 

‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाका हुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले न्युज कारखानासँग भने । 

रसुवागढी र तातोपानी नाका एकतर्फी सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोना नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन । 

भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म)  तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु चीनबाट नेपाल आएको छ । सो अवधिमा नेपालबाट ती नाका हुँदै एक रुपैयाँको वस्तु पनि चीन तर्फ गएको छैन । 

लामो समयदेखि रसुवागढी र तातोपानी नाकाबाट चीनले आफ्नो भूमिमा नेपाली वस्तु भित्रन दिएको छैन । कारण उसले कोरोना महामारी देखाउँदै आएको छ । तर चीनबाट नेपाल भित्रने वस्तुमा भने कुनै रोक तोक गरेको छैन । चीनको यो रवैयाले गर्दा नेपाली व्यवसायी मर्कामा पर्दै आएका छन् । उनीहरू अन्य बाटो प्रयोग गरी वस्तुहरू चीन पठाउन बाध्य भएका छन् । 

‘रसुवागढी र तातोपानी नाका खुला गर्नुपर्‍यो भनेर नेपाली व्यवसायीहरूले पटक पटक भाग गरेका छन्, तर खुलाउन सकिएको छैन,’ निर्देशक खड्काले भने, ‘व्यवसायीहरूले अन्य बाटो प्रयोग गरेर वस्तुहरू चीन पठाउँदै आएका छन् ।’ 



गत आर्थिक वर्ष वर्ष २०७८/७९ मा मात्र रसुवागढी र तातोपानी नाकाबाट ४० अर्ब ६५ करोड २६ लाख ६० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । रसुवागढीबाट २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ र तातोपानीबाट १४ अर्ब २ करोड ३७ लाख २० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको देखिन्छ । 

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ गरी २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आएको थियो । 



आर्थिक वर्ष २०७६/७७ को चैत, वैशाख, जेठ र असार महिनामा रसुवागढीबाट ७ करोड ७८ लाख २१ हजार रुपैयाँ र तातोपानीबाट ४ अर्ब ६३ करोड ८ लाख ९२ हजार रुपैयाँ गरी ४ अर्ब ७० करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो ।  

  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १३:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया