बाजुराको हिमालभक्ति आधारभूत विद्यालय केन्द्रमा जम्मा ५५ मतदाता

बाजुराको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ ६० जना मतदाता थिए । मृत्यु भएका पाँचजनाको नाम हटाउँदा ५५ जना कायम भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए ।

बाजुरा जिल्लाका ७० वटा मतदान केन्द्र र ११२ मतदानस्थल रहेका छन् । बाजुरामा सबैभन्दा कम मतदाता ५५ जना गुम्बा गाउँको मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको छ ।

बाजुराको सर्वाधिक विकटमा रहेको यो गाउँमा ०७४ सालको स्थानीय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो । ०७४ सालको पहिलो चरणको स्थानीय चुनावअगावै गुम्बा गाउँवासीले मतदान गर्न जाँदा बास बस्नुपर्ने बाध्यताको समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले गुम्बा गाउँको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र स्थापना गरेको थियो ।

०७४ सालको स्थानीय चुनावअघिसम्म वडा नम्बर ३ बौडीमा भोट हाल्न जानुपर्ने बाध्यता थियो । गुम्बा गाउँ र बौडी आउ–जाउ गर्न तीन दिन लाग्थ्यो । मानिसबीच बाटोमा बास बस्दै भोट हाल्न जाने र फर्किने गर्दथे । उक्त सामाचार सार्वजनिक भएपछि निर्वाचन आयोग काठमाडौंले ०७४ जेठ २५ गते मतदान केन्द्र स्थापनाका लागि जिल्ला निर्वाचन कार्यालय बाजुरालाई अनुमति दिएको थियो ।

गुम्बा गाउँका बासिन्दाले गाउँमै मतदान केन्द्र स्थापना भएपछि तेस्रोपटक मतदान गर्दै छन् । गुम्बा गाउँका ८५ वर्षीय छिरिङ धोर्चे लामाले गाउँमै मतदान केन्द्र स्थापनापछि भएपछि खुसी लागेको बताए । अर्का स्थानीय जगत बहादुर लामाले विगतमा मतदान गर्नबाट वञ्चित हुँदै आएकाहरुले पनि अब गाउँमा मतदान गर्ने बताए ।





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १९:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया