पनौती-नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्त्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी ६ असोजमा विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । 

काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउन पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन, हिन्दू र बौद्ध धर्मावलम्बीबीच आपसी सद्भाव विकास, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष प्रह्लाद केसीले बताए । 

उनका अनुसार सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेको विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । 

शान्ति पदयात्राबारे आयोजित जिल्लास्तरीय अन्तरक्रियामा पनौती र नमोबुद्धको पहिचानलाई थप उच्च बनाउन शान्तिका प्रतीक गौतम बुद्धको पहिलो जन्मस्थलमा विश्व शान्ति पदयात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएका हुन् । यस्तै, स्थानीय सरकार, व्यवसायी तथा विभिन्न पेसामा आबद्ध नागरिकले उक्त पदयात्रामा सहकार्य तथा सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

काभ्रेमा जन्मिएर अन्यत्र पेसा–व्यवसाय गरेकालाई जिल्लासँग जोड्ने, तीन तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने, धार्मिक सर्किटका रूपमा विकास, पनौती–नमोबुद्ध ट्रेकिङ रुट निर्माणका लागि पहल गर्न शान्ति पदयात्राको आयोजना गरिएको समिति प्रमुख दीपक गौतमले बताए । उनले जिल्लाका १३ वटै स्थानीय तहमा रहेका महत्त्वपूर्ण स्थलको प्रचार–प्रसारका लागि विभिन्न समयमा यस्ता पदयात्रा आयोजना गरिनेसमेत जानकारी दिए ।

पदयात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इँट्टे, शङ्खुबाट ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध पुग्नेछ । नौ दशमलव आठ किमी दूरीको पदयात्रा साढे तीन घण्टामा पार गरिने जनाइएको छ । 



नमोबुद्ध शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ । 

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । 



साथै पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खलाहरू देख्न सकिन्छ । रासस 

  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार ८:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया