सुन्तलाबाटै करोडौं कमाउँछन् सुन्थानका किसान, बगैँचामै पुग्छन् व्यापारी

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित सुन्थान गाउँ यतिबेला सुन्तलाले ढकमक्क छ । सुन्थानका बासिन्दालाई सुन्तला बेच्न अहिले भ्याइनभ्याइ छ । यहाँका किसानले सिजनमा सुन्तला बेचेर १ करोडभन्दा बढी आम्दानी गर्ने गर्दछन् ।

धेरै क्षेत्रफलमा सुन्तला लगाउनेका घरमै व्यापारी सुन्तलाको दाम दिन पुग्ने गरे पनि थोरै सुन्तला लगाउने भने बनेपा झरेरै सुन्तला बेच्ने गर्दछन् । थोरै मात्रामा सुन्तला किन्नै भनेर गाउँसम्म पुग्नेहरू पनि प्रशस्त छन् । तर, सबै समयमै बिक्री नहुने भएकाले बनेपासम्म झरेर भए पनि सुन्तला बेच्ने गरेको स्थानीय किसानको भनाइ छ । 

सुन्थानमा भूकम्पपछिको केही वर्ष सुन्तला उत्पादनमा ह्रास आए पनि पछिल्लो दुई वर्षयता सुन्तला उत्पादन बढ्दै गएको कृषक बताउँछन् । मकै, तोरी र तरकारी खेती हुने ठाउँमा सुन्तलाले अहिले प्रशस्त ठाउँ पाएका छन् । सुन्थानका डेढ सय घरधुरीमा थोरै भए पनि सुन्तलाका बोट छन् ।

३० वर्षदेखि सुन्तला खेती गर्दै आएका सुन्थानका यज्ञबहादुर भण्डारी सुन्तला खेतीले त्यहाँका किसानको जीवन धानेको बताउँछन् । मकै, तोरी लगाउँदा साठीदेखि ७० हजारसम्म वार्षिक कमाइ हुने सुन्थानमा सुन्तला लगाएपछि ५ लाखसम्म कमाइ हुने गरेको उनको भनाइ छ । २०५१ सालबाट सुन्तला खेती गर्न लागेका भण्डारीले यसपटक पनि २ लाख ६२ हजारको सुन्तला बिक्री गरिसकेका छन् ।  

वि.सं २०७१ सालमा ५ लाखको सुन्तला बेचेको सम्झिँदै उनले त्यसताका हेरेर अहिले आधा पनि कमाइ नभए पनि आफू सन्तुष्ट रहेको बताए ।  



‘मकै, तोरी लगाउँदा साठी सत्तरी लाख हुन्थ्यो भने अहिले ५ लाखको सम्म बेचियो । यसपालि मैले २ लाख ६२ हजारको बेचेँ । यो ०७१ सालको हिसाबले त आधा पनि आएन, यसपालि आयो । कसैले केही सहयोग गरेको छैन, पानी छैन, हामीले अनुदानहरू केही पाएको छैन, मल बिरुवा पाएको छैन, मल भए राम्रो फल्थ्यो होला,’ भण्डारीले भने, ‘एउटा बोटमा २ सय किलोसम्म फल्छ । यहीँ किन्न थोरै आउनेहरूलाई सय रुपैयाँ किलो बेच्ने गरेका छौँ ।’ 



पनौती नगरपालिका–९ कै अर्का किसान शहदेव महतले पनि ३ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । अहिले तीन रोपनी जग्गामा डेढ सय सुन्तलाका बोट रहेको र यस वर्ष २ लाख रुपैयाँसम्म आम्दानी हुने आकलन आफूले राखेको बताए । गत वर्षमा कीरा लागेका कारण उत्पादनमा ह्रास आए पनि यस वर्ष नगरपालिकाले कीरा मार्ने औषधि दिएसँगै सुन्तलाको उत्पादन बढेको उनी बताउँछन् ।

मकै, तोरी लगायतका बालीहरु लगाउँदा भन्दा सुन्तला खेतीबाट धेरै आम्दानी गरेको महतको भनाइ छ । उनले भित्री बालीका रुपमा कोदो र मकै लगाउन सकिने भएकाले पनि सुन्तला खेतीबाट आम्दानी राम्रो हुने गरेको बताए ।  

‘मकै लगाउँदा पनि सुन्तलाको जति आम्दानी हुँदैन । यसमा भित्री बाली लगाउन सकिन्छ । अहिले मैले २ लाख चानचुनको बेच्ने आकलन छ । यसको सुकेका हाँगा, एैंजेरूहरू काँटछाँट गर्नुपर्छ, यो टिपिसकेपछि त्यसपछि मलजल गर्नुपर्छ । यस पटक पनि कीरा नलाग्ने औषधि निःशुल्क दिनुभयो भने राम्रो हुन्थ्यो,’ महतले भने ।   

उनले नगरपालिकाबाट सुन्तला किसानलाई गत वर्षझैँ यस वर्ष पनि कीरा नलाग्ने औषधि निःशुल्क दिए राम्रो हुने बताए । वडा नम्बर ९ कै किसान गोपी महत पछिल्लो समय सुन्तलाको उत्पादन र व्यापार फस्टाइरहेको बताउँछन् । आफूले थोरै क्षेत्रफलमा सुन्तला लगाएको भए पनि २५ हजार रुपैयाँसम्मको सुन्तला बेच्ने लक्ष्य राखेको उनको भनाइ छ ।  

आफूले धेरैजसो खेती तरकारी गरेकाले सुन्तला खेती कम रहेको र कम सुन्तलाहरू बनेपा बजारसम्म झरेर आफैंले बेच्ने गरेको महतको भनाइ छ । उनले सुन्तलाबाट गाउँले वार्षिक १ करोडभन्दा बढी आम्दानी गर्ने गरेको बताए ।  

‘पछिल्लो समय सुन्तलाको व्यापार बढी नै छ । नगरपालिकाले विषादी दिएको थियो त्यो हाले पनि कुहिन र झर्न कम भएको छ । हामीले यसपालि २० देखि २५ हजारसम्म बेच्छौँ । थोरै हुनेले बनेपा लगेर बेच्छौँ, धेरै हुनेले यहीँबाट बेच्नुहुन्छ,’ महतले भने, ‘गाउँभरमा सुन्तलाबाट एक करोड बढी पैसा किसानहरूले भित्र्याउनु हुन्छ ।’ 

त्यस्तै, पनौती नगरपालिका–९, ओम डाँडास्थित सिकारी गाउँका किसान रमा महतले भूकम्पपछि सुन्तलाखेतीमा कमी आएको बताइन् । नगरपालिकाले सुन्तलामा लाग्ने कीरा मार्नका लागि औषधि दिएपछि यस वर्ष सुन्तला झर्न कम भएको उनको भनाइ छ । औषधि १० पटकसम्म हाल्न पाए अर्को वर्ष सुन्तलाखेती राम्रो हुने अनुमान गरेको महतले बताइन् । 

उनले थोरै जग्गामा लगाएको भए पनि सुन्तला खेतीले वर्षभर आफूलाई खान पुग्ने आम्दानी हुने बतायन् । ‘गएको साल वर्षमा औषधि पनि पठाइदियो नगरपालिकाले । अझ दुई पटक मात्रै हाल्यौँ । यो वर्ष झरेको छैन । भूकम्पपछि त्यस्तो भएको हो । सुन्तलाबाट राम्रो छ । थोरै जग्गामा लगाएको भए पनि त्यसले आफूलाई वर्षभर खान पुग्छ । वर्षको दुई पटक मलजल गर्नुपर्छ । हामीलाई सबैथरी तालिम दिए हुन्थ्यो । बढी तरकारीको तालिम दिँदा राम्रो हुन्थ्यो,’ महतले भनिन् ।   

अर्का किसान शिवबहादुरले ७ रोपनी क्षेत्रफलमा आफूले सुन्तला खेती गरेको सुनाए । उनले अहिले जलवायु परिवर्तनजन्य प्रभावका कारण कम पानी पर्ने र त्यसको असरले सुन्तलाका बोटहरू मर्ने गरेको बताए । अझै १ सय १५ जति सुन्तलाका बोटहरू रहेको र यस वर्ष तिनीहरूबाट १ लाख ४० हजार रुपैयाँको सुन्तला बिक्री गरेको बताए ।  

२० वर्षबाट सुन्तलाखेती गरेको भन्दै उनले सुन्तला बेचेर किसानहरूले करोडौं रुपैयाँ भित्र्याउने गरेको बताए । किसान सुन्तला उत्पादन कम हुँदा चिन्तित रहेको बताउँदै महतले पानीको कमीका कारण यी समस्या उत्पन्न भइरहेको बताए ।  

‘यसपालि ठिकै सुन्तला फलेको छ । सात रोपनीमा लगाएको छु । अहिले सवा सय बोट बाँकी छन् । मैले यस वर्ष १ लाख ४० हजारमा बेचेँ । राम्रो आम्दानी नभए पनि अरू बालीभन्दा राम्रो हछ । १० देखि १५ वटा बिरुवाबाट सुरु गरेको थिएँ, पछि गाउँघरमा सबैले लगाउन थालेपछि सुरु गरेका हौँ । करिब २ सय लगाएका थियौँ । मरे कति काटियो गर्दा सवा सय जति छन् । यहाँ करोडौं भित्र्याउँछन्, सुन्तला बेचेर गाउँमा,’ उनले भने, ‘नगरपालिकाले खासै केही गरेको छैन । यसपटक औषधि छर्किने भनेर गरेका थिए । त्यसबाहेक केही सहयोग छैन । सुन्तलाको लागि पानीको कमी छ, बढी भएको भए सिँचाइका कारण हुन्थे । मौसमका कारण पानी कम पर्छ, जमिनमा चिसो छैन, त्यसले सुन्तला मरिरहेका छन् । सुन्तलाको उत्पादन भूकम्पपछि केही कम हुँदै गयो । सुन्तलाको उत्पादन बिस्तारै कम भइरहेको छ ।’  

यता, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले नगरपालिकाले कृषिलाई विविधीकरण गर्न खोजिरहेको बताए । उनले नगरपालिका कृषि क्षेत्र र किसानका लागि विशिष्टिकृत तरिकाबाट योजना बनाएर अघि बढिरहेको दाबी गरे । मेयर भण्डारीले नगरमा रहेका ५६ हजार नागरिकमध्ये अधिकांश कृषि पेसामै आश्रित रहेको बताए ।  

नगरपालिकाका उत्पादनलाई बजारीकरण गर्न आफूहरूले पहल गरिरहेको पनि उनको भनाइ छ ।

‘म आइसकेपछि कीराको औषधि दिएर केही भए पनि किसानलाई सहयोग गरिरहेका छौँ । त्यसको नतिजा सन्तोषजनक पाएका छौँ । यसको सरसफाइ र गोडमेलको लागि किसानसँग अन्तरक्रिया गरेर पहिलाको जस्तै हराभरा बनाइदिँदै छौँ,’ मेयर भण्डारीले भने, ‘समयमै किसानलाई रोगहरूको बारेमा जानकारी दिएर रोकथामका उपाय सिकाउने हो भने उत्पादनमा असर हुँदैन । हामी त्यहीअनुसार अघि बढिरहेका छौँ ।’  

उनले नगरपालिकाले समयमै किसानलाई रोगको बारेमा जानकारी दिएर रोकथामका उपाय सिकाउने हो भने उत्पादनमा असर नहुने आफूहरूको ठम्याइ रहेको बताए । मेयर भण्डारीले नगरपालिकामा उत्पादित सुन्तलालाई ब्रान्डिङ गर्न नसकेको र आगामी दिनमा सिँचाइको समस्यालाई समाधान गर्ने प्रतिबद्धता गरे । 

  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार १३:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया