इजरायल सीमा हिंसाले लेबनानमा ७६ हजार मानिस विस्थापित

इजरायलसँगको सीमामा भएको करिब तीन महिनाको लडाइँमा लेबनानमा ७६ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले जनाएको छ ।  

अक्टोबरको प्रारम्भमा इजराइल–हमास युद्ध सुरु भएपछि सीमा क्षेत्रमा हिंसा बढेको छ । शुक्रबार इजराइली सेना र प्यालेस्टिनी लडाकू समूहको लेबनानी सहयोगी एवं इरान समर्थित हिजबुल्लाहबीच शुक्रबार पनि गोलाबारी जारी छ ।  

बिहीबार प्रकाशित प्रतिवेदनमा आइओएमले हिंसा वृद्धिले मुख्यरूपमा इजराइलको सीमामा रहेको दक्षिणी लेबनानका क्षेत्रबाट ७६ हजार १८ मानिस विस्थापित भएको उल्लेख छ । प्रतिवेदनअनुसार ८० प्रतिशतभन्दा धेरै विस्थापित लेबनानी आफन्तहरूसँग बसिरहेका छन् भने दुई प्रतिशतलाई मुलुकको दक्षिणी भागमा फैलिएको मुख्यरूपमा तटीय सहर टायर र हसबायाका सामूहिक आश्रयस्थलमा राखिएको छ ।   

राष्ट्रसङ्घीय एजेन्सीका अनुसार बाँकी विस्थापितले अपार्टमेन्टमा भाडामा लिएका छन् वा सीमाभन्दा टाढाका क्षेत्रमा घरमा सरेका छन् । सीमापार हिंसामा लेबनानमा १ सय ७५ जना मारिएका छन् । मारिनेमा १ सय २९ हिजबुल्लाहका लडाकू र तीन पत्रकारसहित २० भन्दा धेरै सर्वसाधारण रहेका छन् ।

इजराइली अधिकारीहरूका अनुसार उत्तरी इजराइलमा नौ सैनिक र पाँच नागरिक मारिएका छन् । सीमामा इजराइली सेनाविरुद्ध दैनिक कारबाही सञ्चालन गर्ने हिजबुल्लाहले गाजामा उसले हमासको समर्थनमा हस्तक्षेप गरिरहेको बताएको छ ।

हिजबुल्लाहको गढमा मङ्गलबार भएको हमलामा हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी मारिएपछि तनाव अझ बढेको छ । हिजबुल्लाह नेता हसन नसरल्लाहले इजराइललाई व्यापकरूपमा जिम्मेबार ठहर गरिएको उक्त हत्याका लागि ‘दण्ड नदिने’ चेतावनी दिए ।



आधिकारिक आँकडाअनुसार ७ अक्टोबरमा इजराइलमाथि हमासको अभूतपूर्व आक्रमणपछि इजराइलले हमासलाई नष्ट गर्ने वाचा गरेको छ । हमासको उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित १ हजार १ सय ४० को मृत्यु भएको छ ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित २२ हजार ४ सय ३८ को मृत्यु भएको छ ।   



  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार १७:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया