जंगलमा आहारा अभाव भएपछि गाउँ बस्न थाले बँदेल
फाइल तस्बिर

बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन् । बँदेलले वस्ती वरपर नै बासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले वस्ती नजिक बासस्थान बनाउन थालेका हुन् । 

‘बँदेल वस्ती नजिकै बस्न थालेका छन् । स–साना पाठापाठीको हुल बाँधेरै हिँडेका भेटिन्छन्’, भङ्गाहा–४ रामनगर वस्तीका ८० वर्षीय दीपबहादुर फुयाँलले भने । अग्ला काँसका झाडी, नदी किनार क्षेत्रका झाडी र उखुखेती लगाइएका ठाउँलाई बँदेलले बासस्थान बनाएका छन् । 

जिल्लाको भारतीय सीमाक्षेत्र नजिकका वस्तीमा पनि बँदेलले बालीनाली नष्ट गर्न थालेका छन् । ‘केही वर्षअघिसम्म वनबाट आएर बालीनाली खाए पनि बँदेल उतै फर्किने गरेका थिए, अहिले भने खेत नजिकै झाडीमा बस्ने गरेका छन्’, जलेश्वर–५ चौरीया बस्तीका ७८ वर्षीय  रहिमन मण्डलले भने ।

वनक्षेत्रसँग जोडिएका बस्तीमा दिउँसै बँदेलको हुल आएर बालीनाली खाने गरेको उनको भनाइ छ । ‘दशगजा (नेपाल भारत सीमाक्षेत्र) का छेउछाउमा झाडीभित्र बँदेलले बासस्थान बनाएका छन्, बँदेलले स्थानीयलाई आक्रमण समेत गर्ने गरेका छन्’, मण्डलले भने । मडहा, बाँके र जङ्घा नदी छेउका काँसघारीमा बँदेल हुलका हुल बस्ने गरेका छन् । 

सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादव बँदेललगायत वन्यजन्तुबाट बालीनाली जोगाउन सकस भएको बताउँछन् । जिल्लाका मध्य र दक्षिणी भेगमा बँदेलका साथै नीलगाईले पनि किसानलाई दुःख दिने गरेका छन् । 

आहाराको खोजीमा उनीहरू जुनसुकै बेला पनि वस्तीमा पस्ने गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख वरिष्ठ वन अधिकृत सन्तोष झाका अनुसार वन्यजन्तुलाई आहारा अभाव भएको छ ।  





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार २२:२४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया