मिलानलाई हराउँदै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

स्पेनिस क्लब एट्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

राउन्ड अफ सिक्सटिनको दोस्रो लेगमा २–१ को नतिजा निस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एट्लेटिको मड्रिड ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गर्‍यो ।  

पहिलो लेगमा २–१ गोल अन्तरले इन्टर मिलान विजयी भएको थियो । तर, दोस्रो लेगमा एट्लेटिको मड्रिडले २–१ को नतिजा निकाल्दा समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो ।

निर्धारित समयको ३३ औं मिनेटमा इन्टर मिलानलाई फेडरिको डिमार्कोले निकोलो बारेलाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, २ मिनेटमै एट्लेटिकोले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरी गरे । 

८७ औं मिनेटमा मेफिस डिपेले जर्ज मोरोडियोको पासमा गोल गरेपछि एट्लेटिको मड्रिडले २–१ को अग्रता बनायो । त्यसपछि दुवै टिमबाट गोल भएन । अतिरिक्त ३० मिनेट थप गरिएको थियो । त्यसमा पनि गोल ननिस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एट्लेटिकोले ३–२ ले बाजी मार्न सफल भयो ।

एट्लेटिकोका लागि मेफिस डिपे, रोड्रिगो र एन्जल कोरेराले गरेको प्रहार गोलमा परिणत भएको थियो । उता, इन्टरका लागि हकन चालहानोउ र फ्रान्सेस्को एसरबीले मात्र गोल गरेका थिए । तीन खेलाडीको प्रहार मिस भएको थियो ।






  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार ७:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया