हर्क साम्पाङकाे प्रशंसा गर्दै मन्त्री पुनले भने- म तपाईंको अभियानमा सँगै हुनेछु

अर्थमन्त्री वर्षमान पुनले धरानका मेयर हर्क साम्पाङ राईसँग भेटवार्ता गरेका छन् । साम्पाङले आइतबार अर्थमन्त्री पुनलाई बधाई दिँदै धरानको खानेपानी समस्याबारे अवगत गराएका थिए । 

साे क्रममा मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताउँदै धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको जवाफ दिए । 

खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको भन्दै मन्त्री पुनले सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए ।

धरान धेरै राम्रो र सुन्दर सहर भएकाे भन्दै उनले आफू पनि केही समय त्यहाँ बसेकाले खानेपानी समस्याबारे जानकारी रहेकाे मन्त्री पुनकाे भनाइ थियाे । मन्त्री पुनले यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुने आश्वासन दिए । 

खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग पनि कुरा गर्न उनले सुझाए । ‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु, यहाँले पनि उताबाट योजना माग गर्नुहोला, मन्त्री पुनले भने, ‘म तपाईंको अभियानमा सँगै हुनेछु ।’



मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए । उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो । राईले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे । मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गरे ।
 



  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १६:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया