गृहमन्त्रीको प्रश्न : जिबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले बुटवलको सुप्रिम सहकारीबाट ऋण नलिएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले जिबी राईको बदमासीको जिम्मा आफूले लिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । 

सहकारीबाट ऋण लिँदा आफ्नो नाम मात्रै लेखिएको, तर सञ्चारमाध्यमले तथ्य बंग्याएको भन्दै उनले नेपाल प्रहरीको प्रतिवेदनकै खण्डन गरेका छन् । 

सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘रवि लामिछानेको नाममा फेक धितो ऋण खाता क्रेडिट गरी ऋण प्रवाह भएको देखाइएको हो, ऋण लिएको होइन । मेरो व्यक्तिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन, छैन, लामिछानेले लेखेका छन्, ‘अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाइसी फर्म, तीनपुस्ते विवरण लगायतका कुनै विवरण छैन । ल्याप्चे, हस्ताक्षरसमेत छैन । अर्थात मैले ऋण लिएको छैन । मेरो नाम लेखिएको मात्रै छ । रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन् कि कसैले नाम लेखिदिनु भनेको भरमा रवि लामिछानेको नाम लेखिदिएको मात्रै हो । के जिबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?’

इलाका प्रहरी कार्यालय बुटवलले गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा हालका गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा दुई करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।

‘अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा शेयरधनी रहेकोबाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टि भएको कतै केही छ ? लामिछानेले प्रश्न गरेका छन्, ‘म जिबी राईले ल्याएको लगानीको आम्दानीको स्रोत हेर्ने अधिकारी थिएँ कि, ऋण माग कर्ता थिएँ कि, ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिएँ ? कि म दुई–चार करोड ठगठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ ?’

फौजदारी न्यायको सिद्धान्तले प्रमाण र कानुनको आधारमा दोषी प्रमाणित गर्नुपर्छ भन्ने उल्लेख गर्दै उनले आफूले गैरकानुनी रूपमा ऋण लिएको पुष्टि नभएको दाबी गरेका छन् । ‘म सहकारी ठगी कार्यमा कहीँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाणसहितको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।’





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार २१:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया