‘मेक इन नेपाल–स्वदेशी’ अभियान : ५ वर्षमा ५ खर्बको निर्यात गर्ने लक्ष्य

‘मेक इन नेपाल–स्वदेशी’ अभियानका मुख्य लक्ष्यहरू
– हरेक वर्ष हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गरिने
– कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने
– पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्‍याउने
– पाँच वर्षभित्र डुइङ बिजनेस इन्डेक्स कम्तीमा ३० अंकले सुधार गर्ने (अहिलेको ९४ बाट ६४ मा उकास्ने)
– पाँच वर्षभित्र स्वदेशमै आत्मनिर्भर बन्न सकिने प्रमुख १० वस्तुको उत्पादन बढाएर आयात ४० प्रतिशतले घटाउने
– पाँच वर्ष पूर्वाधारमा जिडिपीको २० प्रतिशत खर्च गर्नुपर्ने
– प्रत्येक वर्ष नेपाली वस्तुको खपत २५ प्रतिशतले बढाउँदै लैजाने
– आयात प्रतिस्थापन गर्ने उद्योगहरू स्वदेशमै स्थापना गर्न प्रोत्साहित गर्ने
– राष्ट्रिय स्वाभिमान बढाउने रणनीतिसहित औद्योगिक पूर्वाधार, कृषि, वैदेशिक लगानी र सेवा क्षेत्रको विकास गर्ने ।

पछिल्लो समय वार्षिक १ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सामग्री निर्यात भएकोमा आगामी पाँच वर्षभित्र त्यसलाई ५ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको नेपाल उद्योग परिसंघले जनाएको छ ।

परिसंघको अभियानमार्फत् वार्षिक एक हजार उद्योग दर्ता गरी उत्पादन क्षमता वृद्धि गर्दै निर्यातको मात्रा बढाउने लक्ष्य रहेको छ । परिसंघले मुलुकभित्र स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्नुका साथै निर्यातको हिस्सा समेत वृद्धि गर्ने उद्देश्यका साथ हाम्रो सामान हामै स्वाभिमान नाराका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको हो ।

स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यसहित यो अभियान सुरु गरिएको नेपाल उद्योग परिसंघले जनाएको छ । उक्त अभियानको शुभारम्भ तथा लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित राष्ट्रका रूपमा अघि बढाउने दिशामा यो निकै महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

सरकारले सुरु गर्नुपर्ने अभियान निजीक्षेत्रबाट भएको र यसलाई सरकारले आफ्नै अभियानका रूपमा लिएको उनको भनाइ छ । समृद्ध राष्ट्र निर्माणमा नयाँ अठोटका साथ आएको यस अभियानले औद्योगिकीकरण, रोजगारी सृजना र आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छन् ।

स्वदेशी उत्पादनको वृद्धि, स्वदेशमै प्रयोग, ब्रान्ड तथा गुणस्तर प्रवर्धन र प्रतिस्पर्धी बनाउने दिशामा अभियान केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।



‘औद्योगिक क्षेत्रमा भन्दा कृषि क्षेत्रमा बढी रोजगारी छ, तर त्यहाँ उद्योग छैनन्,’ उनले भने, ‘कृषिमा आधारित उद्योग र त्यसका सहायक उत्पादनहरू नभएकाले त्यस दिशामा पनि ध्यान दिनुपर्छ ।’ आयातलाई सरकारले प्रोत्साहन नगर्ने भन्दै उनले कच्चा पदार्थ र अत्यावश्यक वस्तुबाहेक अन्य वस्तु आयातलाई प्रतिस्थापन गर्नेतर्फ नेपालको औद्योगिक क्षेत्र लाग्नुपर्ने बताए ।

‘यो अभियान वस्तुहरूको विज्ञापनका लागि मात्रै नहोस्,’ प्रम ओलीले भने, ‘राष्ट्रिय उत्पादनलाई बढाएर निर्यात गर्नेतर्फ अभियान केन्द्रित होस्, सरकारले सहयोग र सहकार्य गर्नेछ ।’



यस्तै, प्रधानमन्त्री ओलीले इनर्जी ड्रिङ्क्सलाई धमिलो पानीको संज्ञा दिएका छन् । उनले बाहिरबाट धमिलो पानी ल्याएर बेच्दैमा देश समृद्ध नबन्ने बताए । ओलीले विदेशबाट सामान आयात गरेर बेच्दा देशको आर्थिक उन्नति नहुने भन्दै नेपालमा पर्याप्त पानी छ, त्यसलाई प्रयोग गरी इनर्जी ड्रिङ्क्स बनाई बेच्नेतर्फ ध्यान दिन उद्योगीलाई आग्रह गरे ।

परिसंघले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल–स्वदेशी अभियान’ सुरु गरेको हो । त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पुँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ । 

यस्तैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ ।

परिसंघको यस अभियानमार्फत् सन् २०३० सम्ममा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा उद्योगको योगदान २६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । यस्तै आगामी पाँच वर्षमा झण्डै ५ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सामग्री अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

उद्योगमन्त्री लेखराज भट्टले मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग क्षेत्रको विकास र विस्तारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अभियानलाई नेपाल सरकारले स्वामित्व लिएर निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्यसहित ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए ।

‘मुलुकको उद्योग–व्यवसाय कोभिड–१९ का कारण प्रतिकूल अवस्थामा छ । सरकार र निजी क्षेत्र दुवैले यो महामारीबाट उद्योग–व्यवसाय र रोजगारी बचाउन प्रयासरत छौँ,’ अध्यक्ष मोरले भने, ‘यस्तो परिस्थितिमा स्वदेशी उत्पादन, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता र नेपाली वस्तु तथा सेवाको माग बढाउने हाम्रो लक्ष्य हो ।’

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार तथा अर्थविद् विश्व पौडेलले अभियानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै मुलुकको आर्थिक वृद्धि दरलाई दिगो बनाउन औद्योगिकीकरण नै प्रमुख भएको बताएका छन् । आगामी ५ वर्षमा वार्षिक निर्यात ४ दशमलब ३ अर्ब डलर पुर्‍याउने र कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र सन् २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने गरी अभियानले काम गर्ने उनको दाबी छ ।

कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले स्वदेशी वस्तुको उत्पादन, उपभोग र विदेशमा रहेका नेपालीहरूका लागि स्वदेशी ब्रान्ड उपयोगको जागरण प्रारम्भ भएको बताए ।

यसमा सरकार र निजीक्षेत्रका साथै आम सर्वसाधारणबीच सहकार्यको भावना जरुरी भएको भन्दै उनले यसलाई अवसरका रूपमा उपयोग गर्न हातेमालो जरुरी भएको उल्लेख गरे । परिसंघले हरेक वर्ष १ हजार उद्योग सञ्चालनमा ल्याउने र वार्षिक १ लाख ५० हजारलाई रोजगारी दिने लक्ष्य राखेर यो अभियान सुरु गरेको हो ।

  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १५:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया