कर छली गर्ने बालाजी ग्लासलाई १ करोड ४७ लाख जरिवाना

न्यून भन्सार मूल्यांकन गरी कर छली गर्ने उद्देश्यले सीसा भित्र्याउन खोजेको भन्दै बालाजी ग्लास प्रालि कारबाहीमा परेको छ । बालाजी ग्लास प्रालिले कर छली गर्ने नियतले सिसाको डकुमेन्ट बुझाएपछि वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले ५ सय प्रतिशत जरिवाना लगाएको हो । भन्सार छली गर्न सिसाको मोटाइ (एमएम) र परिमाण घटाएर भित्र्याउन खोज्दा कारबाहीमा परेको हो । जसअन्तर्गत भन्सार कार्यालयले १ करोड ४७ लाख रुपैयाँ जरिवाना गरेको छ ।

दुईवटा कन्टेनरलाई २ करोड ३९ लाख २० हजार ४९१ रुपैयाँ जरिवाना तिराएको वीरगन्ज सुक्खा बन्दरगाहका सूचना अधिकारी चूडामणि कट्टेलले जानकारी दिए । भन्सार अधिकृतहरूले सिसामा न्यून विजकीकरण गरेको आशंकामा बालाजी र तिरुपतिका ४ कन्टेनर नियन्त्रणमा लिएका थिए । जाँच गर्दा बालाजीका दुईवटा कन्टेनरमा ‘फल्ट’ भेटिएपछि ५ सय प्रतिशत जरिवाना तिराएको उनले बताए ।

कार्यालयका अनुसार भन्सार ऐनअनुरुप बालाजी ग्लास प्रालिलाई एमएम ढाँटेकोमा २ सय प्रतिशत र एल्लो जोनअन्तर्गत भएकाले थप ३ सय प्रतिशत जरिवाना लगाइएको हो ।

‘बालाजी ग्लासले नियतबस नै भन्सार छल्न खोजेको पुष्टि भएको छ, त्यही भएर यसलाई ५ सय प्रतिशत जरिवाना गरिएको हो,’ कट्टेलले भने, ‘बालाजी ग्लासले बढी एमएम ल्याएर कम एमएमको प्रज्ञापनपत्र बुझाएको र बढी स्क्वायरमिटर ल्याएर कम स्क्वायरमिटर देखाएको फेला परेको छ ।’

बालाजीले ३० माघमा भन्सारलाई बुझाएको ३४७८ नम्बरको प्रज्ञापनपत्रमा सिसाको परिमाण ३५७२ स्क्वायर मिटर ‘डिक्लेरेसन’ देखाएको छ । तर, भन्सार अधिकृतले कन्टेनर जाँच गर्दा ५३५ स्क्वायर मिटर बढी सिसा भेटिएको थियो ।

कम्पनीले प्रज्ञापनपत्रमा ४ एमएमको सिसा जनाए पनि जाँच गर्दा ५ एमएमको भेटिएको सूचना अधिकारी कट्टेलले जनाएका छन् । भन्सार कार्यालयले परिमाण र एमएम दुवै फरक फेला पारेपछि १२ हजार ३२४ डलर छुट्टै मूल्य कायम गरी ९२ लाख ९६ हजार रुपैयाँ जरिवाना तिराएको छ । 



अर्को कन्टेनरको ५४३५ नम्बरको प्रज्ञापनपत्रमा ४.५ एमएमको ५ हजार ७४६ वर्गमिटर ग्लास रहेको घोषणा गरेको थियो । तर, भन्सार अधिकृतले जाँच गर्दा ५ एमएमको सिसा फेला परेपछि जरिवाना तिराएको कट्टेलले बताए । बालाजीले चार प्रकारका सिसा ल्याएकोमा तीनवटा ठीक रहेको बताए । उनले भने, ‘प्रज्ञापनपत्रमा सिसाको एमएम घटाएर कर छली गर्न खोजेको भेटिएपछि १ करोड ४७ लाख २४ हजार ३८८ रुपैयाँ जरिवाना गरेका छौं ।’

कम भन्सार मूल्यांकन गरेको आशंकामा वीरगन्ज सुक्खा बन्दरगाहले इसिएमयू २०६४३७२२ जी १ र टिइएमयू ३६८१२४२२ जी १ नम्बरका दुईवटा सिसा बोकेका कन्टेनरको भन्सार पास रोकेर अनुसन्धान थालेको थियो ।



भन्सार ऐन, २०६४ अनुसार न्यून विजकीकरण गर्नेलाई ५ सय प्रतिशत जरिवाना गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बालाजीलाई जरिवाना लगाएको सूचना अधिकारी कट्टेलले बताए । वीरगन्ज सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार बालाजीले चीनबाट सिसा आयात गरेको हो ।

  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १७:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया