महिला फुटबल टोली स्वदेश फर्कदै

काठमाडौं- ओलम्पिक महिला फुटबलको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कंदै छ । नेपाली टोली आज मध्याह्न नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एसिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो । नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो ।

छनोट प्रतियोगिताको नियमअनुसार प्रत्येक समूहका शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसैअनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो । नेपाल रहेको समूहबाट म्यानमा विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । 

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।

नेपाली टोलीमा गोलकिपरमा एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार ९:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया