प्रतिनिधि सभा निर्वाचन : मकवानपुर एमालेमा टिकटको हानाथाप, नयाँ अनुहार ल्याउने तयारी

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आगामी ४ मंसिरमा हुँदै छ । संघ तथा प्रदेशको निर्वाचन मिति तोकिएसँगै देशभर नै चुनावी सरगर्मी बढिरहेको छ । कुन नेताले कहाँबाट उम्मेदवारी दिन्छन् भन्ने विषयमा अहिले चर्चामा छ । आसन्न निर्वाचन अघिल्लो निर्वाचनभन्दा रोचक बन्ने आकलन पनि गरिएको छ । 

त्यसो त मकवानपुरका राजनीतिक दलका नेताहरुलाई प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवार छान्न सकस बनिरहेको छ । प्रदेशमा भन्दा प्रतिनिधिसभातिर आकर्षण बढिरहेको बेला अघिल्लो निर्वाचनमा मकवानपुर जिल्लाकै ठूलो दल बनेको नेकपा एमालेलाई योपटक आफ्नो साख जोगाउनको लागि हेभीवेट नेतालाई टिकट थमाउने प्रयास जुटिरहेको स्रोतले बताएको छ । 

पहिले नै निर्वाचनमा होमिइसकेकालाई दोहोर्याउने कि युवा पंक्तिलाई अघि बढाउने भन्ने विषयमा एमालेभित्र छलफल चलिरहेको जिल्लाका केही शीर्ष नेताहरुले बताएका छन् । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ मा एमालेबाट टिकटका लागि मात्रै ४ जना आकांक्षी रहेका छन् । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, वर्तमान सांसद कृष्णप्रसाद दाहाल, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र एमालेका जिल्ला सचिवालय सदस्य मदनकुमार दाहालले उम्मेदवार बन्ने चाहना राखेका छन् । 

नेकपा एमालेबाट प्रतिनिधिसभाको निर्वाचनको लागि सफल इतिहास बनाएका तथा वर्तमान सांसद कृष्णप्रसाद दाहाल र बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलमध्ये एकजनाले टिकट ल्याउने चर्चा यति बेला मकवानपुर एमालेमा छ ।

नयाँ फेस ल्याउँने छौँ ः एमाले अध्यक्ष श्रेष्ठ



नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ अबको निर्वाचनमा कार्यकर्ताको मागअनुसार नयाँ फेसलाई उम्मेदवारी दिने बताउँछन् । जिल्लाको दुईवटा प्रतिनिधिसभामा उम्मेदवारीको आकांक्षा भएका धेरैजना नेताहरु रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । पछिल्लो समय पुरानाभन्दा नयाँ फेसको आवश्यकता छ भन्ने कार्यकर्ताको माग आएको बताउँदै उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाका लागि एमालेले नयाँ, सक्रिय र राजनीतिक परिवेशका पक्का उम्मेदवारको चयन गरेर पठाउने सोचेका छौँ । हामीले मात्रै छानेर पनि हुँदैन । केन्द्रीय कमिटीले नै निर्णय गर्ने हो ।’ 


नेकपा एमालेमा योग्य उम्मेदवारहरुको संख्या धेरै रहेको दाबी गर्दै उनले भने, ‘यद्यपि, जनताको समस्यालाई काँधमा राखेर जिम्मेवारी सम्हाल्न सक्ने उम्मेदवार नै एमालेले निर्वाचनमा होमिन पठाउनेछ ।’ 



को बलियो ?

नेकपा एमालेका तर्फबाट क्षेत्र १ मा पटक–पटक चुनाव जितेका कृष्ण दाहाल संघीय अर्थ समितिको सभापति समेत हुन् । उनी यो पटकको चुनावमा आफू विजयी हुने दाबीका साथ चुनावी मैदानमा उम्मेद्वारी दाबी गर्न लागेका हुन् । आफू त्यस क्षेत्रको प्रत्येक वडा र टोल टोलसम्म पुगेको भन्दै दाहालले गठबन्धनबाट जो चुनाव लड्न आए पनि आफूले जित्नेमा ढुक्क रहेको दाबी गरे । 

बहुदल पुनर्स्थापनापछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचन–०४८ मा तत्कालीन राप्रपा नेता कमल थापालाई हराएर संसदीय राजनीति सुरु गरेका दाहाल त्यसयताका सबै निर्वाचन जित्न सफल बनेका  छन् । यसैलाई आधार मान्दै दाहाल पुनः आफैँले टिकट पाए एमालेले साख जोगाउन सक्ने पक्षमा छन् । 

०५१ मा कमल थापासँग नै पराजित भएका दाहाल पुनः ०५६ मा थापालाई पराजित गर्दै दोस्रोपटक सांसद बनेका थिए । ०७४ मा टिकट पाएका दाहालले कांग्रेस–राप्रपा गठबन्धनका कमल थापालाई पराजित गरेका थिए ।

यसैगरी, जिल्ला समन्वय समितिको प्रमुख भएर मकवानपुरको हेटौँडा र पूर्वी क्षेत्रमा समेत राम्रो काम गरेको अनुभवी खुलाल पार्टीले टिकट दिएमा प्रतिनिधिसभामा नै चुनाव लड्ने तयारीमा छन् । पार्टीमा जिल्लाको नेतृत्व पनि गरिसकेको र जनताकै माझमा रहेर निरन्तर काम गरिरहेकाले फेरि पनि जनभावनाअनुसार काम गर्ने तयारीका साथ चुनाव लड्ने दाउ खुलालको छ भने एमालेका जिल्ला सचिवालय सदस्य समेत रहेका अधिवक्ता मदन दाहाल अहिले देशैभरि जस्तै मकवानपुरका नागरिकले पनि परिवर्तन चाहेको र युवा उम्मेदवारको माग बढेकाले उम्मेदवारी दिने तयारीमा छन् । 

आमनागरिकले परिवर्तन चाहने अनि पार्टीले उम्मेदवार सधैँ पुराना अनुहारलाई मात्र बनाउने परिपाटीको अन्त्य गर्नुपर्ने उनको दबाब छ । नागरिकले युवा उम्मेदवारमा आशा र भरोसा राख्न थालेका  बताउँदै पार्टीले अबका दिनमा पुराना मुहारलाई भन्दा युवा पूस्तालाई पत्याउन पर्ने बताउँदै आएका छन् ।

यता, जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा पनि हेभीवेट भन्दै बागमती प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेलसहित पुरानै नेताको चर्चा पनि उत्तिकै रहेको छ । पुराना अनुहार र चिनेका अनुहारलाई जनताले साथ दिन्छन् भन्ने अपेक्षाका साथ निर्वतमान मुख्यमन्त्री पौडेललाई पार्टीले साथ दिने आकलन समेत बढेको छ । 

त्यसो त, स्थानीय तहको निर्वाचनमा हेटौँडाको मेयरको लागि इच्छुक सचिवालय सदस्य मदनकुमार दाहाल अनन्त पौडेललाई टिकट दिएपछि ब्याक भएका थिए । मकवानपुरमा प्रतिनिधिसभाका लागि दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेकोले पार्टीमा लामो समयदेखि काम गरिरहेका पाका नेताहरू र युवा पुस्ताहरू उत्तिकै जोसिएर लागेका छन् । तर, पुराना परिचित अनुहारलाई टिकट दिने कि युवा नेतृत्वलाई अगाडि बढाउने भन्ने विषयमा टुंगो लगाउन नै एमालेभित्र सकस भएको बताइएको छ । 

जिल्लाका एमाले नेताहरु टिकटका लागि दौडधुपमा लागे पनि उनीहरूमध्ये कसले टिकट पाउलान् भन्ने यकिन भएको छैन । तर, हालसम्म औपचारिक रूपमा टिकटको लागि पहल भने गरेका छैनन् । गठबन्धनसँग निर्वाचनमा होमिनुपर्ने एमालेको लागि यो क्षेत्र ‘रेड जोन’मा समेत छ । 

गत स्थानीय निर्वाचनको वडागत तथ्यांकलाई हेर्दा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमाले ३८ हजार ५६ मत सहित पहिलो स्थानमा छ भने कांग्रेस ३४ हजार ७२ मत सहित दोस्रो, माओवादी केन्द्र १६ हजार ५ सय ४२ मत सहित तेस्रो तथा राप्रपा ४ हजार ७० मत सहित चौथो स्थानमा छ । नेकपा एसको ३ हजार २ सय ८३ मत छ ।
 

  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १८:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया