प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण

बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ । 

झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ । सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ । 

यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, ‘पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो । ‘लाइट लोड’ कायम छ ।’ विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन् । 


प्राधिकरणले आज पनि विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको जनाएको छ । कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले भने, ‘सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ । एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो । त्यो समाधान भइसकेको छ ।’

धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविकरूपमा पैदा भएको जानकारी दिँदै उनले भने, ‘उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए । रुपैनीमा  प्राविधिक समस्या देखिएको थियो । सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो । अहिले कुनै जटिलता छैन ।’

बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ‘ओभरलोड’ भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । गतवर्ष वैशाखको पहिलो साता कूल जडित क्षमता दुई हजार मेगावाट बराबर थियो । यस पटक जडित क्षमता दुई हजार छ सय मेगावाट बराबर पुगेको छ । तर यसवर्ष तर हिउँ कम परेकाले पनि नदीमा जल सतह घट्नगई उत्पादन घटेको छ ।



यसवर्ष जडित क्षमतामा वृद्धि भएको भए पनि गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशत उत्पादन घटेको छ । निजी क्षेत्रका आयोजना औसतमा १५ प्रतिशत हाराहारीको क्षमतामा मात्रै चलिरहेका छन् । औद्योगिक ग्राहकको विद्युत माग बढेको छ । त्यो माग सात सयदेखि आठसय मेगावाट बराबर छ । 

तराईमा पानी नपर्दा सिँचाइमा प्रयोग हुने बिजुलीको खपत बढेको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले सिँचाइका लागि एक सय ५० देखि दुई सय मेगावाटसम्म बिजुली खपत भइरहेको छ । अहिले भारतमा पनि विद्युत् माग बढेकाले भारतले बेलुका सात बजेदेखि राति २/३ बजेसम्म बिजुली नपठाउने गरेको छ । ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट मागअनुसार बिजुली आयात गर्न सकिने भए पनि पूर्व–पश्चिम जाने प्रसारण लाइनको क्षमताका कारण सम्भव नभएको उनको भनाइ छ । 



आगामी एक वर्षभित्र निर्माणाधीन हेटौँडा– ढल्केबर– इनरुवा प्रसारण लाइनको निर्माण सक्ने प्राधिकरणको योजना छ । सो प्रसारण लाइनको क्षमता चार सय केभीको छ । यस्तै, हेटौँडा– भरतपुर– बर्दघाट प्रसारण लाइन पनि आगामी वर्षभित्र सम्पन्न हुनेछ । सो प्रसारण लाइनको क्षमता दुई सय २० केभी क्षमताको छ । 

उद्योगी व्यवसायीलाई बिहान बेलुका कम चलाउन आग्रह गरिएको र त्यसैलाई बिजुली पाइएन भनेर गलत प्रचार गर्नुको अर्थ नभएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।  

  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार १६:४६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया