प्राविधिक त्रुटी देखाउँदै उद्योगमा विद्युत कटौती

मोरङ–सुनसरी–कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगमा नेपाल विद्युत प्राधिकरणले विभिन्न प्राविधिक त्रुटी देखाउँदै विद्युत आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार संघले आपत्ति जनाएको छ । 

विगतका कोभिडका कारण  भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा तरलता अभाव, चर्को बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा  जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि  अतिआवश्यक  विद्युत् आपूर्तिसमेत असहज हुँदा उद्योग जोखिमपूर्ण अवस्थामा पुगेका छन् । 

प्राधिकरणबाट केही महिना यता भइरहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत कटौतीबाट समस्याग्रस्त बनेको उद्योग क्षेत्रको नेतृत्व गर्दै यस संघले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्वाद विद्युत आपूर्ति गर्न तथा विद्युत कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउन माग गरेको  संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योगको हकमा हाम्रो नेतृत्वमा सञ्चालित उक्त कार्यकम लगत्तै हाल प्राधिकरणले उद्योगमा क्यापासिटर बैंक नभएको वा सञ्चालन नगरेका उद्योगलाई सामान्य प्राविधिक कारण देखाउँदै लिखित सूचना बिना मौखिकरूपमा  विद्युत आपूर्ति कटौती गरिदिने कुरा  यस संघको विरोध कार्यक्रमको प्रतिशोधस्वरुप आएको हो कि भन्ने प्रश्न उठेको जनाइएको छ  ।

विद्युत आपूर्ति सहज गरिदिन, विद्युत कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, क्यापासिटर बैंक सञ्चालनमा ल्याउन नसकेका उद्योगलाई उचित समय दिन, सङ्कट ग्रस्त उद्योगमा कुनै प्रकारका धम्की/त्रासका वातावरण सिर्जना नगराउन तथा उद्योगमा कार्यरत हजारौं श्रमिकको रोजगारीको संरक्षण गराउन प्राधिकरणसहित सम्बन्धित सबैमा संघले आग्रह गरेको छ । 





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार १३:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया