अघोषित लोडसेडिङले मारमा व्यवसायी

‘अघोषित लोडसेडिङ’ र ‘लो भोल्टेज’बाट आजित भयौँ भन्दै १० वैशाखमा पूर्वका व्यवसायीहरू सडकमा उत्रिए । तालिकाविना दैनिक १२ घण्टासम्म बिजुली कटौती हुँदा उद्योगी मारमा परेको भन्दै उनीहरुले विद्युत् प्राधिकरणको दुहबी ग्रिड घेराउ समेत गरे । लोडसेडिङ बढेको गुनासो बढेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १०–१५ दिनमा समाधान हुने बताएका थिए । तर, एक महिना हुन लाग्दासमेत समस्या समाधान नभएको गुनासो गर्छन्, मोरङ व्यापार संघका प्रमुख कार्यकारी निर्देशक कृष्ण रेग्मी । 

जलस्रोेतको धनी देश नेपाल बिजुलीमा आत्मर्निभर हुँदै गएको भन्दै सरकारले पटक–पटक खपत बढाउन आग्रह गर्दै आएको छ । त्यति मात्र होइन, विद्युत भारतमा बिजुली निर्यात गर्दै आएको छ भने अब बंगलादेशलाई पनि बिक्री गर्ने योजना अघि सारेको छ । 

यसरी बिजुली निर्यात गर्ने ठूला–ठूला योजना बनाइरहँदा आफ्नै देशका नागरिक भने अघोषित लोडसेडिङको मारमा परिरहेका छन् । ‘नजिकको तीर्थ हेला’ भन्ने उखानजस्तै भएको संघका प्रमुख कार्यकारी निर्देशक रेग्मी बताउँछन् । ‘नेपाल लोडसेडिङमुक्त भयो, अब बिजुली बेचर पैसा कमाइन्छ भनेर ठूला–ठूला कुरा सुन्छौं,’ उनी आक्रोश पोख्छन्, ‘अनि जहिल्यै गर्मी याम सुरु भएपछि लोडसेडिङ खेप्नुपर्ने ?’

सुक्खा समयमा जहिले पनि कम बिजुली उत्पादन हुन्छ । यो कुरा आफूहरूलाई पनि थाहा भएको भन्दै लोडसेडिङको तालिका सार्वजनिक गर्न  उनी माग गर्छन् । लोडसेडिङ तालिका भए धेरै कुरा व्यवस्थापन गर्न सहज हुने उनको तर्क छ । ‘बत्ती गइरहँदाभन्दा पनि आउँदै जाँदै गर्दा हामीले धेरै समस्या भोगिरहेका छौं,’ पीडा सुनाउँछन्, ‘तालिका भए बत्ती जानुअघि नै मेसिन बन्द गर्न सकिन्थ्यो, त्यसो हुँदा मेसिनमा क्षति पुग्ने थिएन, मेसिनमा हालिसकेको कच्चा पदार्थ खेर जाने थिएन ।’

कोरोना महामारीबाट बल्ल तंग्रिन थालेका उद्योगी–व्यवसायी जथाभावी हुने लोडसेडिङले झनै मारमा परेका छन् । त्यसकारण बिजुली निर्यातमा भन्दा पनि आफ्नै देशका उद्योगी व्यवसायीलाई पर्याप्त बिजुली उपलब्ध गराउन उनी सरकारसँग माग गर्छन् ।

‘हामीले विद्युत् निर्यात नगर भन्न खोजेको होइन,’ उनी थप प्रष्टयाउँछन्, ‘यहाँका उद्योग कल कारखालाई कसरी हुन्छ, बाह्रै महिना विद्युत् उपलब्ध गराउनुपर्यो । यदि हुँदै भएन भने कति समय विद्युत कटौती हुन्छ भनेर तालिका सार्वजनिक गर्नुपर्यो ।’ भारतमा विद्युत् निर्यात हुनु सकारात्मक भए पनि देशभित्रै विद्युतको गुणस्तर र पूर्वाधारमा सुधार गर्नुपर्ने माग उनको छ । 



‘पूर्वदेखि पश्चिमको बिजुली जहाँ बढी भयो त्यहाँबाट कम भएको स्थानमा पुर्याउने संयन्त्र बनाउनुपर्यो,’ उनी माग राख्छन्, ‘धेरै व्यवस्थापकीय समस्या छन्, ती समस्यालाई समाधान गर्न सरकार दृढ हुनुपर्यो ।’ बिजुली निर्यात गरेर पैसा भित्रयाउने कुरा गरिरहँदा पछिल्लो समय ‘लोडसेडिङ’ ले गिज्याइरहेको छ, सरकारलाई । 

अझै पनि नेपालमा बिजुली नपुगेका गाउँहरु छन् । राष्ट्रिय जनगणना ०७८ को नतिजाअनुसार ९२ प्रतिशत घरपरिवार मात्र विद्युतको पहुँचमा छन् । नेपालमा कुल ६६ लाख ६० हजार ८४१ घरपरिवारमध्ये ६१ लाख ३९ हजार १४१ परिवारले बिजुली उपयोग गर्छन् । अझै ८ प्रतिशत मानिस बिजुली उपभोगको पहुँचबाहिर छन् । 



किन भइरहेको छ लोडसेडिङ ?

सक्ख्खा याम लम्बिँदा विद्युत् उत्पादन, आयात र आपूर्तिमा समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणको दाबी छ । सुक्खा याम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन करिब ३० प्रतिशतमा खुम्चिएको छ । जसका कारण औद्योगिक क्षेत्रमा बिजुली कटौती भएको हो । 

नेपालले वर्षा याममा केही मात्रामा बिजुली निर्यात गरेपनि अझै सुक्खा याममा भारतीय बिजुलीकै भर पर्नुपर्ने बाध्यता रहेको सुनाउँछन्, प्राधिकरणका सूचना अधिकारी सुरेशबहादुर भट्टराई । 

गर्मी यामसँगै भारतले पनि नेपाललाई मागेजति बिजुली उपलब्ध गराउन सकेको छैन । प्राधिकरणका अनुसार देशभरका जलविद्युत् आयोजनाको क्षमता करिब २५ सय मेगावाट छ । तर, सुक्खा यामका कारण हाल सामान्य अवस्थामा करिब ८ सय मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ । औसत माग भने १३ सय मेगावाट छ । पिक आवरमा उच्च माग भने १७ सय ५० मेगावाट पुग्ने गरेको सूचना अधिकारी भट्टराईको भनाइ छ । उनका अनुसार हाल भारतबाट करिब ५ सय मेगावाट बिजुली आयात भइरहेको छ । 

अब प्रि–मनसुन सुरु हुनेबित्तिकै बिजुली कटौतीको समस्या हट्ने उनको दाबी छ । भन्छन्, ‘अब प्रि–मनसुन सुरु हुन लाग्यो । पानी पर्न थालेसँगै उत्पादन बढ्छ र लोडसेडिङको समस्या हट्छ । केही समयलाई धैर्य गरिदिन पर्यो ।’ 

के भन्छ निजी क्षेत्र ?

सुक्खा याममा सधैँ बिजुली अपुग भए पनि वर्षा याममा भने बिजुली खेर जाने गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का प्रमुख कार्यकारी अधिकृत शैलेश मिश्र बताउँछन् । 

अहिलेको अवस्थामा १० वटा आयोजनाबाट उत्पादित ४ सय ५१ मेगावाट बिजुली मात्र भारतको ऊर्जा बजारमा नेपालले बेच्छ । तर, त्योभन्दा बढी बिजुली बिक्री गर्न सकिँदैन । नेपालले भारतमा थप बिजुली बिक्री गर्नका लागि प्रस्ताव पठाएको छ । तर, त्यस विषयमा भारतले अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन । 

पछिल्लो समय बिजुली उत्पादन थप भइरहेको बेलामा बजारमा अनिश्चितता देखिनु लगानीकर्ताका दृष्टिबाट कहालीलाग्दो अवस्था रहेको उनी बताउँछन् । उनका अनुसार बिजुली उपभोग बढाउँदै बिक्रीका लागि समेत मार्ग प्रशस्त गर्ने व्यावहारिक कार्यक्रम ल्याउन जरुरी रहेको मिश्रको सुझाव छ ।

‘गत वर्षहरूमा कम उत्पादन हुँदा पनि बिजुली खेर गएको थियो । यस पटक त वर्षा यामसम्ममा ३ हजार मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने हाम्रो अनुमान छ,’ उनी भन्छन्, ‘सुक्खा याममा अपुग र वर्षा याममा खेर जाने समस्याको व्यवस्थापन सरकारले गर्नुपर्यो ।’

अहिले बिजुली अपुग भए पनि सरकारले वर्षा याममा निजी क्षेत्रलाई बिजुली उत्पादन रोक्न आग्रह गर्छ । जसले निजी लगानीकर्ता हतोत्साहित भएको उनको भनाइ छ । ‘हाम्रो उत्पादन पूर्ण रूपमा व्यवस्थापन हुनुपर्यो । वर्षा याममा पनि विद्युत खेर जानुभएन । वर्षा याममा पनि हामीले पैसा पाउछौं भनेर लगानी गरेका हौं,’ उनी भन्छन्, ‘तर, प्राधिकरणले बिजुली बढी हुन्छ भनेर उत्पादन बन्द गर भन्छ । तर, यसो भन्दैमा हामीलाई बैंकले तपाईंको उत्पादन भएन, ब्याज मिनाहा गर्दिन्छौं भन्दैनन् । हामी दुवैतर्फबाट समस्यामा छौँ । एकातर्फ हामीले उत्पादन रोक्नुपर्ने र अर्कोतर्फ ब्याज तिर्नुपर्ने अवस्था छ ।’ 

त्यसकारण बिजुली वितरण सञ्जाल विस्तार गर्नेदेखि निःशुल्क विद्युतीय चुल्हो वितरण, विद्युतीय सवारी साधनमा प्रोत्साहनलगायत कार्यक्रममार्फत सरकारले बिजुलीको खपत बढाउनेतर्फ सोच्नुपर्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १९:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया