रोमाञ्चक जितका साथ मियामी युएस ओपन कपको फाइनलमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकन सकर क्लब इन्टर मियामी युएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा सिन्सिनाटीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।  

निर्धारित समय २–२ र त्यसपछि अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । खेलको १८ औँ मिनेटमा सिन्सिनाटीले लुसियानो अकोस्टाको गोलबाट अग्रता लिएको थियो । ५३ औँ मिनेटमा ब्रान्डन भाज्केजले गोल गर्दै सिन्सिनाटी २–० ले अघि बढ्यो ।  

६८ औँ मिनेटमा मियमीका लिओनार्डो काम्पानाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले लियोनल मेस्सीको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।  

इन्जुरी समयमा थप गरिएको आठौँ मिनेटमा मेस्सीकै पासमा काम्पानाले हेडरमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।



अतिरिक्त समयको पहिलो हाफमै मियामीले गोल गर्दै खेलमा अग्रता लियो । उसले जोसेफ मार्टिनेजको गोलबाट ३–२ को अग्रता पाएको थियो । तर, अतिरिक्त समयको दोस्रो हाफमा सिन्सिनाटीका युया कुबोले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याएका थिए ।  

टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४–४ प्रहारमा गोल भएको थियो । सिन्सिनाटीका हागलन्डले गरेको पाँचौं प्रहार गोलरक्षक क्यालेन्डरले बचाएपछि मियामी ५–४ ले विजयी भयो । 



अब उपाधिका लागि मियामीले ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीचको विजेताको सामना गर्नेछ । फाइनल खेल २७ सेप्टेम्बरमा हुनेछ ।  

  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार ९:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया