अर्बौँ रुपैयाँको दुग्धजन्य पदार्थ गोदाममा थन्कियो, उद्योग सञ्चालन गर्नै मुस्किल

भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् ।
 
यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ । सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका हुन् । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार चार सय ५० टनभन्दा बढी बटर चिस्यान केन्द्रमा छ । उद्योगको बाहिरको दुई सय ५० टन क्षमताको चिस्यान केन्द्र र भित्रको ५० टनका दुई वटा चिस्यान केन्द्र भरिएर चार वटा प्यासेजमा बटर राखिएको छ । यसलाई माइनस २० डिग्री तापक्रममा राख्नुपर्छ ।
 
त्यसैगरी पाउडर दूधले गोदाम भरिएको छ । उनले भने, ‘हामीसँग एक अर्ब रुपैयाँको भन्दा बढी दुग्धजन्य पदार्थ गोदाममा छ ।’ डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको पराजुलीको गुनासो छ ।
 
विसं २०६४ मा स्थापना गरिएको यो उद्योग भूकम्पसँगै बन्द हुन पुगेको थियो । विसं २०७५ देखि यो उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको एक सय १३ रुपैयाँ र बटरको प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।
 
यो मात्रै होइन, प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र सबैमा दुग्धजन्य पदार्थ मौज्दात छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव १० अर्ब रुपैयाँ भन्दा बढीको दुग्धजन्य पदार्थ मौज्दात रहेको बताए । दसैँ तिहारको समयमा मासुजन्य पदार्थ खपत बढी हुने हुँदा दुग्धजन्य पदार्थको खपत कम भएको उनले बताए । आर्थिक मन्दीका कारण क्रय शक्ति घट्दा विगतको जस्तो खपत हुन नसकेको कार्यकारी निर्देशक डा. यादवको भनाइ छ । क्रमशः खपत बढ्दै जाने उनको भनाइ छ । यससँगै भारत, बङ्गलादेश, जापानलगायतका देशमा निर्यातको विषयमा छलफल भइरहेको उनले जानकारी दिए । कार्यकारी निर्देशक डा. यादवले बताए, ‘खपत बढाउनका लागि सबै लाग्नुपर्ने देखिएको छ ।’ प्रचारात्मक अभियानमार्फत खपत बढाउन उनले सुझाव दिए ।

डेरी एसोसिएसनका अध्यक्ष राजकुमार दाहाल दूध किन्न सक्ने अवस्था हुन छाडेको बताउँछन् । प्रशोधन भएका दुग्धजन्य पदार्थ राख्ने ठाउँ नहुँदा समस्या भएको उनको भनाइ छ । बीचको समयमा लम्पिस्किन रोगका कारण दूधको खपत घटेको र भारतीय बजारबाट दूध आएका कारण पनि नेपाली उत्पादनले बजार नपाएको उनले बताए । उनले भने, ‘हाम्रो लागत मूल्य बढी हुँदा निर्यातमा पनि समस्या छ ।’ सरकारले निर्यातमा अनुदान दिएर छिमेकी देशमा दुग्धजन्य पदार्थ पठाउनुपर्ने उनले बताए । 
 
दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने भन्दै उनले त्यसमध्ये ५० प्रतिशत बजारमा आउने गरेको बताए । बजार आएको दूधमध्ये पनि १७ प्रतिशतमात्रै सरकारी नीति–नियम पूरा गरेर प्रशोधन गर्न सक्ने गरी आएको अध्यक्ष दाहाल बताउँछन् । दैनिक तीन लाख लिटरभन्दा बढी दूध विभिन्न उद्योगमा प्रशोधन हुने गरेको भन्दै उनले सबै चिस्यान केन्द्र दुग्धजन्य पदार्थले भरिएको बताए ।
 
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल आफूहरू बङ्गलादेश गएर अध्ययन गरेर फर्किएको भए पनि सरकारी अनुदानबिना यहाँको उत्पादन पठाउन नसकिने बताए । स्वदेशमा यसको खपत बढाउन नसकेमा समस्या रही नै रहने भन्दै उनले दुग्धजन्य पदार्थको महत्वका बारेमा प्रचारात्मक अभियानमा जुट्नुपर्ने बताए । आफूहरूले पाहुनालाई स्वागत, सम्मान गर्दा र मायाको चिनो दिनुपर्दा दुग्धजन्य पदार्थ प्रयोग गर्न थालेको उनले बताए । उनले भने,  ‘अब हामीले चिसो पेय पदार्थ होइन, दूध, दही र मोहीको प्रयोग गर्नुपर्छ’, भोजभतेरमा समेत मोही राख्ने चलन बढेको उनले बताए । 
 
इतिहासमै पहिलो पटक दुग्धजन्य सबै पदार्थ मौज्दात रहेको दाहालले जानकारी दिए । सरकारले यसबारेमा समयमै सोचेर किसान र उद्योग बचाउनुपर्ने धेरैको माग छ । डेरी उद्योगले दुग्धजन्य पदार्थ राख्ने ठाउँ अभाव भएको भन्दै लैजान आनाकानी गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।  





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार ९:२७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया