मेस्सी प्रभाव : ‘फुटबलमय’ बन्दै अमेरिका

अर्जेन्टिनी विश्वकप विजेता कप्तान लिओनल मेस्सी हाल अमेरिकामा व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले पहिलोपटक युरोप बाहिर व्यावसायिक फुटबल खेलिरहेका हुन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई बिदा गरेपछि मेस्सी अमेरिकन क्लब इन्टर मियामीमा आबद्ध छन् । 

पिएसजीसँगको सम्झौता सकिएपछि उनी आफ्नै पुरानो क्लब बार्सिलोना फर्किने धेरैको आकलन थियो । यसबीच साउदी क्लबले पनि मेस्सीलाई प्रस्ताव नगरेका होइनन् । तर, उनको मन न साउदीतिर लाग्यो नत बार्सिलोनातिर नै मोडियो । मेस्सीले सबैलाई चकित पार्दै इन्टर मियामी रोजे । 

त्यतिबेला धेरै समर्थकले उनको निर्णयप्रति असन्तुष्टि पनि जनाए । तर, मेस्सी करियरको अन्तिमतिर युरोप छाडेर अमेरिकामा व्यावसायिक फुटबल खेल्ने निचोडमा पुगे । उनले आफ्नो निर्णयलाई सही साबित पनि गरिरहेका छन् । विश्व प्रतिष्ठित लिग त्यागेर अमेरिका रोजेका ३६ वर्षीय मेस्सी अहिले पनि उत्तिकै फुर्तिला र लयमा छन् । 

साथै, उनले अमेरिकामा फुटबलको माहोल नै तताएका छन् । सन् २०२६ को फिफा विश्वकपअघि मेस्सीले तताएको माहोलले अमेरिकालाई पक्कै पनि फाइदा पुग्नेछ । आगामी विश्वकप अमेरिकासहित मेक्सिको र क्यानडाले संयुक्तरूपमा आयोजना गर्दैछन् । त्यसअघि अमेरिकाले फुटबलमय वातावरण बनाउने पूरा कोसिस गरिरहेको छ ।

अमेरिकाको त्यो योजनामा मेस्सीको पनि अहम् भूमिका रहेको छ । अमेरिकन क्लबमा उनको आगमनसँगै मियामीले लिग कप उपाधि जित्दै सुखद सन्देश दियो । त्यसपछि पनि मेस्सीको जादु जारी नै रह्यो । 



उनले मियामीका लागि लगातार उच्च प्रदर्शन गरिहेका छन् । मेस्सीले जति–जति गोल गरिरहेका छन्, अमेरिकामा फुटबलको माहोल पनि सोहीअनुसार माथि उठिरहेको छ । यो कुराको पुष्टि प्रसिद्ध अमेरिकी पत्रिका टाइमले पनि गरिसकेको छ । हालै उसले मेस्सीलाई ‘एथलिट अफ द इयर’ अवार्डबाट सम्मानित गरायो ।



योसँगै उनी यो अवार्ड जित्नै पहिलो पुरुष फुटबल खेलाडी बने । छोटो समयमै अमेरिकी फुटबलमा ठूलो प्रभाव पारेका कारण टाइमले मेस्सीलाई यो अवार्ड प्रदान गरेको हो । उनकै सानदार प्रदर्शनमा अमेरिकाको मेजर लिग सकर छोटो अवधिमा फुटबल समर्थकको रोजाइमा पर्न थालेको छ ।  

  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १४:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया