एसिया कपमा आज भारतसँग खेल्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ–११

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले तेस्रो खेल आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ११ः१५ देखि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपाल भारतलाई हराउँदै सुखद अन्त्य गर्न चाहन्छ । सेमिफाइनल यात्रा गर्ने हो भने नेपालले भारतलाई विशाल अन्तरले हराउनुपर्नेछ, त्यो सम्भावना निकै कम छ । त्यसैले नेपाल सेमिफाइनल पुग्नभन्दा पनि भारतविरुद्ध जित निकाल्नमा जोड दिनेछ । 

नेपालविरुद्धको खेल भारतका लागि पनि महत्वपूर्ण छ । यदि नेपालसँग हार बेहाेरेमा उसको सेमिफाइनल यात्रामा धक्का लाग्न सक्छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको भारत दोस्रो खेलमा भने पाकिस्तानसँग ८ विकेटले पराजित भयो । अहिले ऊ २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यता अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको हार बेहोर्‍यो ।

जारी प्रतियोगितामा नेपालले ब्याटिङमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १ सय ५२ रनमै अलआउट भयो । दोस्रो खेलमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमै अलआउट भयो । नेपाल अन्तिम खेलमा भारतविरुद्ध पूरा ओभर खेल्ने कोसिस गर्नेछ । 



नेपाललाई इतिहास दोहोर्याउने मौका 



नेपाल आज भारतविरुद्धको इतिहास दोहोर्याउन चाहन्छ । सन् २०१७ मा भएको यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो । 

सो एसिया कप खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनायो । जसमा कप्तान दीपेद्र सिंह ऐरीले १०१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८८ रनको इनिङ खेले ।

१ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमै अलआउट भयो । नेपाल यसपटक सेमिफाइनल पुग्न नसके पनि दोस्रोपटक भारतलाई हराउन पूरा मिहिनेत गर्नेछ । 

भारतविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले तेस्रो खेलमा विपिन रावल र आकाश त्रिपाठीलाई बाहिर राख्दै दीपकप्रसाद डुम्रे र विशालविक्रम केसीलाई मौका दिनसक्छ । 

विपिन पाकिस्तानविरुद्ध सात र अफगानिस्तानविरुद्ध शून्यमै आउट भए । यस्तै, आकाश पहिलोमा ६ र दोस्रो खेलमा शून्यमै एल्बीडब्लू धरापमा पारे ।

नेपालको सम्भावित प्लेइङ–११ : अर्जुन कुमाल, दीपक बोहरा, देव खनाल, उत्तम थापा मगर, दीपप्रसाद डुम्रे (विकेटकिपर), गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, आकाश चन्द र हेमन्त धामी ।  

  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ६:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया