यू–१९ एसिया कपमा नेपालको प्रदर्शन किन यति कमजोर ?
तस्बिर : एसिसी

एसिसी यू–१९ एसिया कप खेल्न यूएई उड्नुअघि नेपाली कप्तान र प्रशिक्षकको दाबी थियो– टेस्ट टोलीलाई हराएर सेमिफाइनल पुग्नेछौँ । तर, नेपालले न टेस्ट मान्यता टिमलाई हराउन सक्यो नत सेमिफाइनलको यात्रा नै गर्‍यो । बरु नेपालले यस संस्करणमा इतिहासकै खराब प्रदर्शन गर्‍यो ।  

समूह ‘ए’ मा परेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको खराब नतिजा हात पार्‍यो । दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपाललाई पुनरागमन गर्ने मौका दियो । तर, नेपालले अफगानी टिमविरुद्ध भने ७३ रनको लज्जास्पद पराजय बेहोर्‍यो ।

यो अवस्थासम्म नेपालको सेमिफाइनल सम्भावना जीवित नै थियो । तर, तेस्रो खेलमा आठपटकको एसिया कप च्याम्पियन भारतसँग १० विकेटको लज्जास्पद हारले नेपालको सो झिनो सेमिफाइनल सम्भावना पनि समाप्त भयो ।

५२ रनमै अलआउट भएको यो खेलले नेपाललाई ठूलो पाठ सिकाएको छ । योसँगै नेपाल लगातार दोस्रोपटक एक खेल पनि नजित्दै समूह चरणबाटै घर फर्कियो । सन् २०२१ मा यूएईमै भएको एसिया कपमा पनि नेपाल यही नतिजाका साथ स्वदेश फर्किएको थियो । १०औँ संस्करणको एसिया कपमा नेपाली समर्थक सबैभन्दा निराश कप्तान देव खनाल र गुलशन झाबाट देखिए ।



प्रतियोगिताअघि यी दुई सिनियर खेलाडीको सहयोगमा नेपालले राम्रो प्रदर्शन गर्नेमा समर्थक आशावादी थिए । तर, गुलशन र देव नै सबैभन्दा फ्लप भए । विशेषगरी यस एसिया कपमा नेपालको ब्याटिङ लाइन निकै कमजोर रह्यो ।

हुन त नेपालको यो समस्या अहिलेको मात्र होइन । तर, यसपालि अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव प्राप्त गुलशन र देव भएकाले नेपालले ब्याटिङमा सुधार गर्नेमा धेरैको अनुमान थियो । तर, देवले तीन खेलमा २६ र गुलशनले कुल २२ रन मात्र बनाए ।



गुलशनले बलिङमार्फत पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । उनले ३ खेलमा ४ विकेट मात्र लिए । बरु यसपटक ओपनिङ ब्याटर अर्जुन कुमालले केही सम्भावना देखाए । उनले तीन खेलमा एक अर्धशतकीय इनिङसहित १ सय १९ रन बनाए । अर्जुनले पहिलोमा २१, दोस्रोमा ९१ तथा तेस्रो खेलमा ७ रन जोडे । 

सेमिफाइनल लक्ष्य पूरा नभए पनि नेपालका लागि एसिया कप विश्वकपअघि आफ्नो कमजोरी पत्ता लगाउने प्रतियोगिता चाहिँ बन्यो । एसिया कपमा नेपालले निरन्तर कमजोर प्रदर्शन गर्नुमा पर्याप्त अभ्यासकै कमी देखियो । नेपालले प्रतियोगिता खेल्नुअघि घरेलु मैदानमा अभ्यास गरे पनि त्यो पर्याप्त थिएन । सकेसम्म नेपालले एसिया कप खेल्नुअघि विभिन्न देशसँग सिरिज खेल्नुपर्ने थियो ।

नेपालसँग प्रतिस्पर्धा गरेका भारत र पाकिस्तानको टोली राम्रो अभ्यासपछि यूएई पुगेका थिए । पाकिस्तानले एसिया कपअघि बंगलादेश र श्रीलंकासँग लगातार म्याच खेलेको थियो । यस्तै, भारतीय टिमले पनि पर्याप्त अभ्यास पाएको थियो । त्यसको परिणामस्वरूप भारत र पाकिस्तानले जारी एसिया कपको सेमिफाइनलमा पनि स्थान बनाए । 

यदि नेपालले आफूभन्दा बलियो टोलीसँग अभ्यास पाएको भए एसिया कपमा नतिजा आफू अनुकूल ल्याउने सम्भावना थियो । तर, त्यसमा क्यान चुक्दा नेपालले यसपटक पनि गत संस्करणकै नतिजा दोहोर्यायो । नेपालले आउँदो जनवरीमा दक्षिण अफ्रिकामा आयोजना हुन लागेको यू–१९ विश्वकपमा सहभागिता जनाउँदै छ ।

नेपालले दक्षिण अफ्रिकामा रन बनाउन झन् संघर्ष गर्नुपर्ने छ । यस्तो अवस्थामा नेपाल यो एक महिनाको अवधिमा कडा अभ्यासमा व्यस्त हुनुको विकल्प छैन । विश्वकपमा नेपालले पहिलो खेलमा २१ जनवरीमा न्यूजिल्याण्ड, २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानको सामना गर्ने तालिका छ ।    

  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १०:२९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया