जापानमा भूकम्प : मृतकको संख्या ९२ पुग्यो, २४२ जना बेपत्ता

जापानको इशिकावामा ७.६ म्याग्निच्युडको  भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्यांक भने बढ्दै गएको देखिन्छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

भूकम्पपछि सबैभन्दा प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस भग्नावशेषमा फसेका छन् । जापानको सेल्फ डिफेन्स फोर्सका अनुसार, प्रहरी र दमकल विभागका चार हजार ६०० कर्मचारी मिलेर बेपत्ताको खोजी तथा सुरक्षाको पुष्टि गर्ने प्रयासहरू गरिरहेका छन् ।

क्योदोका अनुसार जापानको भू–स्थानिक सूचना प्राधिकरणलाई उद्धृत गर्दै वाजिमा सहरको केन्द्रमा भुइँचालोका क्रममा आगलागी भएपछि करिब ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।

क्षतिग्रस्त क्षेत्रका १० भन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध भएकाले अत्यावश्यक सामग्रीको पुर्‍याउन चुनौती  थपिएको छ । यसैबीच, ७ सयभन्दा बढी व्यक्तिहरू भूकम्प प्रभावित वाजिमाका वरपरका विभिन्न स्थानमा फसेका छन् ।



भूकम्पले यस क्षेत्रको पूर्वाधारमा गम्भीर असर परेको छ । लगभग तीस हजार घरधुरीले विद्युत अवरूद्धताको सामना  गरिरहेका छन् । करिब १३ सहरका ८० हजार घरधुरीलाई खानेपानी आपूर्तिमा समस्या भएको छ । 

इशिकावामा करिब ३ सय ७० निकासी केन्द्रहरूमा करिब ३३ हजार मानिस बसेका छन् । शौचालयलगायतका सरसफाइसम्बन्धी विषयमा पनि चिन्ताजनक अवस्था देखा परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  



सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापान मौसम विज्ञान अनुसनधानसम्बन्धी निकायले भूकम्पलाई नोटो प्रायद्वीप भूकम्प २०२४ नामाकरण गरेको छ । 

  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार १५:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया