तेस्रोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । 

केन्द्रीय गठबन्धनमा अझै सामेल भए पनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।  

जनमतले साथ छोडे पनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन । उनी जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हुन् । प्रदेशसभामा रहेका सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । 

यादवले मुख्यमन्त्री बनेपछि अहिलेसम्म आठपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । उनले एक वर्षसम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ । त्यहीकारण देखाउँदै अन्य दलले समेत मुख्यमन्त्री फेर्नुपर्ने भन्दै केन्द्रमा लबिङ गर्दै आएका छन् । 

मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९/९ सांसद छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका एक/एकजना सांसद छन् । यहाँ एकजना स्वतन्त्र सांसद रहेका छन् । 

यसआधारमा सत्तारुढ गठबन्धनको मत जोगाउन सके मुख्यमन्त्री यादवले यसपटक पनि विश्वासको मत प्राप्त गर्नेछन् । 





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार ७:३५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया