सडक विस्तारको काम छिटो सक्नुपर्ने मागसहित काभ्रेका जिसस प्रमुख अनसनमा
फाइल तस्बिर

काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले आजदेखि आमरण अनशन थालेका छन् ।

उनले चार किलोमिटर उक्त सडकखण्ड विस्तार सम्झौताको करिब एक महिना बाँकी रहँदा एक तिहाइ पनि काम नभएपछि आज दिउँसो २ः३० बजेदेखि आमरण अनशन बसेका हुन् ।

गौतमले सडक बिस्तारको काममा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन पाँचखाल र धुलिखेल नगरपालिकाको सीमास्थल खावामा आमरण अनशन सुरु गरेको बताइएको छ । उनले जिल्लास्थित सम्पूर्ण निर्माणाधीन सडकको निर्माण  छिटो गर्न माग गर्दै आमरण अनशन बसेको बताए । ‘सम्पूर्ण सरोकारवालाको उपस्थितिमा सडक निर्माण सुरु गरेर सक्ने प्रतिबद्धता नजनाएसम्म आमरण अनशन बस्नेछु’, उनले भने । हाल केही हप्तादेखि उक्त सडक निर्माण ठप्प छ ।

गौतमले यसअघि सडक बिस्तारको काममा निर्माण कम्पनीले ढिलाई गरेपछि पछिल्ला केही महिनादेखि पटकपटक जिल्लास्तरमा सरोकारवालासँग छलफल कार्यक्रम गर्दै आएका छन् । 

उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिना अर्थात् आउँदो चैत १९ गते सम्पन्न गर्नेगरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । 

उक्त सडकखण्ड विस्तारका लागि व्यवसायीसँग २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा सम्झौता गरिएको थियो । सम्झौताको समयावधि नजिकिँदै गर्दा एक तिहाइसमेत काम नसकिएपछि सडक डिभिजन कार्यालयले गत माघ तेस्रो साता ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो । 



कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानतवापतको रकम समेत जफत गर्ने योजना बनाएको छ। साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागत समेत यसै निर्माण कम्पनीबाट असुलउपर गरिने कार्यालयले जनाउँदै आएको छ ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । रासस



  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २२:४५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया