विराटको शतकका बाबजुद आरसीबी पराजित, जोसको शतकले आरआर विजयी

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा राजस्थान रोयल्स (आरआर) ले लगातार चौथो जित निकालेको छ । चौथो जित दर्ता गर्नेक्रममा आरआरले गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) लाई ६ विकेटले हरायो ।

आरआरको यो लगातार चौथो जित हो । आफ्नो चौथो खेलमा आरसीबीले दिएको १८४ रनको लक्ष्य आरआरले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर जोस बटलरले शतकीय पारी खेले ।  

उनले ५८ बलमा ९ चौका र चार छक्काको मद्दतमा अविजित १ सय रन बनाए । बटलरले छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गर्नुका साथै टिमलाई सानदार तरिकाले जित दिलाए  

यस्तै, सञ्जु स्यामसनले ४२ बलमा आठ चौका र दुई छक्कासहित ६९ रनको इनिङ खेले ।​ शिमरन हेटमायरले ११ रनको योगदान दिए ।  



आरसीबीका लागि रिस टोप्लीले दुई, यश दयाल र मोहम्मद सिराजले एक/एक विकेट लिए । त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको  आरसीबीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन जोड्यो ।



उसका लागि पूर्वकप्तान विराट कोहलीले शतकीय पारी खेले । ७२ बलको सामना गरेका उनले १२ चौका र ४ छक्कासहित ११३ रनको शतकीय इनिङ खेलेका हुन् । आइपिएलमा कोहलीको यो आठौँ शतक हो । 

यस्तै, कप्तान फ्याफ डु प्लेसिसले ४४ रन बनाए । राजस्थानका लागि युजवेन्द्र चहलले दुई र नन्द्रे बर्गरले एक विकेट लिए । यो जितपछि अपराजित रहेको आरआरले चार खेलबाट ८ अंक जोडेको छ । 

ऊ शीर्ष स्थानमा पनि उक्लियो । पाँच खेल खेल्दा एकमा मात्र जित निकालेको आरसीबी आठौँ स्थानमा छ ।  

  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ६:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया