यी हुन् आज दिनभरका समाचार

स्थिर राजनीति र ठोस आर्थिक नीतिविना देश बन्न सक्दैन : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीतिविना देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

नेपाल कृषि प्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै उनले कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने उनले बताए । 

कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशतभन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५–४० प्रतिशतसम्म पुर्याउने र सेवा क्षेत्रलाई ५०–५५ प्रतिशतमा पुर्याउन सके मात्रै देश विकास सम्भव हुने बताए । 

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा गई त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको उनले बताए । 



सत्ता र शक्तिमा बस्नेबाट देश बर्बाद भयो : अध्यक्ष केसी



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिमा बस्नेहरुबाट देश बर्बाद भएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

देशको उद्योगधन्दा पनि बर्बादउन्मुख भएको उनले जिकिर गरे । उनले देश उद्योगधन्दा गर्नेहबाट नभई सत्ता र शक्ति केन्द्रमा बस्नेहरुबाट बर्बाद भइरहेको बताए । उनले वर्ष दिनमा चारपटकसम्म सत्ता परिवर्तन हुने र कुन मन्त्री आएर कस्तो नीति बनाउँछ भन्ने भयमा व्यवसायी रहनुपर्ने बाध्यता रहेको बताए । 

उनले देशले संघीयता पाल्न नसक्ने पनि बताए । अध्यक्ष केसीले विकृतिको केन्द्रविन्दु सिंहदरबार रहेको बताए । 

लण्डन म्याराथनमा गोपीचन्द्रको चुनौती 

नेपालका धावक गोपिचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस संस्करणको लण्डन म्याराथन आगामी अप्रिल २१ मा सुरु हुँदै छ । 

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पाँच हजार पाँच हजार मिटर दौडमा स्वर्ण विजेता गोपिचन्द्रले यसपटक नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्ने भएका हुन् । त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दै छन् । 

बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीलगायतले गोपीलाई बिदाइ गरे । उनी नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लण्डन म्याराथनका लागि छनोट भएका हुन् । 

नेपालगञ्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा विजेतालाई लण्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गत मंसिर नेपालगन्ज म्याराथन म्याराथन जितेयता गोपिचन्द्रले लण्डन म्याराथनको तयारी गरिरहेका थिए । 

उनी एपिएफका खेलाडी हुन् । नेपालबाट छनोट भएर पहिलोपटक कुनै पनि धावक लण्डन म्याराथनको इलिटर्पm प्रतिस्पर्धा गर्न लागेको हो । लण्डन म्याराथनको विभिन्न विधामा गरेर पाँच लाख ६० हजार मानिस दौडनेछन् । इलिटमा भने करिब ५० हजार धावक हुनेछन् ।

प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तीव्र पारेका छाँैः उपप्रधानमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारिएको बताएका छन् । जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । 

प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भीर भएर छलफललाई तीव्र पारिएको उनले बताए । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन छिट्टै गर्ने अभिव्यक्ति दिइरहेको समयमा गृहमन्त्री लामिछानेले पनि प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागेपनि त्रुटिविना समायोजन गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरुसँग दुई चरणको छलफल समेत भइसकेको उनले बताए । यद्यपि यकिन गरेर कहिले प्रहरी समायोजन कहिले हुन्छ ? भन्ने विषयमा भन्न नसकिने उनको भनाइ थियो । 

गृहमन्त्री लामिछानेले आरोप लाग्ने र उजुरी पर्नेबित्तिकै सांसद एवं मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्नुपर्ने बताए । उनले नेपाली कांग्रेसले राजीनामा माग गरेको र संसद अवरोध गरिरहेकोबारे सञ्चारकर्मीको प्रश्नमा कांग्रेसको मागभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एक कदम अघि बढेर उजुरी पर्नेबित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्न प्रस्ताव गरिसकेको बताए । 

कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । गोष्ठीमा स्थानीय प्रशासनले कानून कार्यान्वयनमा पूर्ण सक्रियताका साथ कार्य गर्ने र संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार मातहतका निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धता भएको छ ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताएका छन् । 

बुधबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने उनले बताए । 

कांग्रेसले सुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भएको, तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको उनले बताए । उनले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्ने कुरामा सरकार सकारात्मक रहेको उनले बताए । 

मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताइन् । उनले अनलाइन मिडिया आइसके, न्यु मिडियाहरु आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको बताए । उनले  सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक रहेको पनि बताइन् । 

गाजा युद्धविराम नगरेको भन्दै टर्कीद्वारा इजरायलमा निर्यात प्रतिबन्ध 

टर्कीले गाजापट्टीमा युद्धविरामको लागि भन्दै इजरायलमा उत्पादनहरूको नयाँ निर्यात प्रतिबन्ध लागू गरेको छ । फलाम, रंग, संगमरमर, इस्पात, सिमेन्ट, एल्युमिनियम, ईटा, मल, निर्माण उपकरण र उत्पादनहरूका साथै उड्डयन इन्धनसहित उत्पादनहरूमा प्रतिबन्ध लगाएको हो । 

इजरायलले अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो दायित्वको ढाँचा भित्र गाजामा तत्काल युद्धविराम घोषणा नगरेसम्म सामग्रीहरुमा प्रतिबन्ध जारी रहने बताउनु भयो । इजरायलले गाजामा प्यालेस्टिनीहरूलाई आवश्यक पर्ने चिकित्सा आपूर्ति र स्वास्थ्य सेवाहरूसहित सबै आधारभुत मानवीय सहायताको निर्वाध प्रावधानलाई अनुमति दिन संयुक्त राष्ट्र संघसँग पूर्ण सहयोगमा रहनुपर्ने बताएको छ । 

इजरायलले गाजा सहायता ड्रप अपरेशनमा भाग लिन टर्कीको अनुरोधलाई अस्वीकार गरेपछि प्रतिबन्धहरू लगाइएको हो । टर्कीका विदेश मन्त्री हाकान फिदानले अंकाराले इजरायल विरुद्ध शृृंखलाबद्ध कदम चाल्ने निर्णय गरेको घोषणा गरे । 

टर्की सरकार मार्च ३१ को स्थानीय चुनावअघि गाजामा इजरायलको निरन्तर हत्याको बीचमा व्यापार जारी राखेकोमा आलोचनामा परेको थियो । वर्ष–दर–वर्ष २७.२ प्रतिशतले कमी भए पनि, इजरायलमा टर्कीको मासिक निर्यात मार्चमा ४३७ मिलियन अमेरिकी डलर पुगेको छ । 

जुन गाजामा इजरायल र हमासबीचको विगत ६ महिनाको द्वन्द्वको अवधिमा सबैभन्दा उच्च रेकर्ड हो ।

कांग्रेसले सहकारी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय बनायो : मनीष झा

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । 

सहकारीलगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई उनले अनुरोध गरे । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराए । 

आफ्नो पार्टीको सुशासनमाथिको प्रतिबद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको उनले बताए । सांसद झाले देशलाई यही व्यवस्थाभित्र सुशासनको माध्यमबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दाबीसमेत गरे । सांसद झाले भ्रष्टाचारको अन्त्यको अभियानमा सबै दलहरु एक हुनुपर्नेमा पनि जोड दिए । 

विमला घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित

नेकपा (एमाले)की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत प्राप्त भयो । 

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरे निर्वाचित भएको घोषणा गरे । एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेकी घिमिरेको पक्षमा ३९ मत परेको थियो । 

कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गरिन् । बैठकमा ५५ जना सांसदहरुको उपस्थिति रहेको थियो । अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना समेत गरे । 

गत चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएभएपछि सो पद रिक्त भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रबार एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

काँग्रेसको मागअनुसारको छानविन समिति बनाऔँः सांसद पाण्डे

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरेअनुसारको सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको गतिरोध अन्य गर्न सरकारको ध्यानाकर्षण गराए । 

उनले नेकपा(एकीकृत समाजवादी) पनि ०४७ सालदेखिकै भ्रष्टाचारहरुको छानबिन गर्ने पक्षमा रहेको पनि बताए । सांसद पाण्डेले दोषीलाई उम्काउने गरी नभई कारबाही गर्नेगरी छानबिन गर्नुपर्ने बताए । 

लोसपा पनि संसदीय छानविन समिति गठन गर्ने पक्षमा 

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।
 
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले सहकारीबाट धेरै नागरिक पीडित भएको भन्दै तुरुन्त संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । उनले ०७५ सालमा गोरे भन्ने व्यक्तिको नेतृत्वमा भएको ३८ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

त्यस्तै, भेपमा सुन तस्करी प्रकरणमा छानविन समितिले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै सो प्रतिवेदन पनि तुरुन्त सार्वजनिक गर्न उनले माग गरे । उनले संसदीय छानबिन गरिराख्ने, तर प्रतिवेदन सार्वजनिक नगर्ने भए समिति बनाउनुको कुनै महत्व नभएको बताए । 

  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार २२:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया