दुग्ध क्षेत्रमा निजीको ३० अर्ब लगानी, सरकारको बेवास्ता

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान पुर्‍याएको दुग्ध क्षेत्रलाई सरकारबाट बेवास्ता गरिएको सम्बन्धित उद्योगी व्यवसायीको भनाइ छ । यस क्षेत्रलाई सरकारले गम्भीरताका साथ नहेर्दा मुलुक दूध उत्पादनमा अझै आत्मनिर्भर बन्न नसकेको डेरी उद्योग संघले जनाएको छ । 

सरकारले प्रदान गर्ने अनुदान र समर्थनको असमान वितरणका कारण पछिल्लो समय दुग्ध व्यवसायीहरू निरुत्साहित हुन थालेको संघका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । जसका कारण अनौपचारिक क्षेत्र हाबी हुन थालेको उनको ठम्याइ छ । दूधमा आत्मनिर्भर हुनका लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार वार्षिक ९१ लिटर दूध आवश्यक रहेको छ ।

‘हाल मुलुकमा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक रहेको छ अध्यक्ष दाहाल भन्छन् तर हामीसँग अहिले प्रतिव्यक्ति ७८ लिटर मात्रै उपलब्ध रहेको छ । सरकारले नै यस क्षेत्रलाई गम्भीरताका साथ नहेर्दा दूधमा निकै पहिले आत्मनिर्भर हुनुपर्ने भए तापनि अझै त्यो सम्भव भएको छैन ।’

सरकारले पछिल्लो समय कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन प्रयास गरिरहँदा यसले दुग्ध क्षेत्रलाई चुनौती प्रदान गरेको संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी बताउँछन् । हाल मुलुकको दूध क्षेत्रमा निजी क्षेत्रको ३० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । यद्यपि सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुकुलो गर्ने हो भने आगामी दिनमा निजी क्षेत्रका दूध उद्योग धराशायी हुन पुग्ने उनको दाबी छ ।

पछिल्लो समय मुलुकभित्र वार्षिक ५ प्रतिशतले दूध उत्पादन वृद्धि भएको अवस्था छ । दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्नु नेपालका लागि ठूलो अवसर रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव बताउँछन् । तर, अहिले मुलुकभित्र रहेको समग्र डेरी क्षेत्र एक आपसमा समन्वय गर्न नसक्दा दुग्ध क्षेत्र पछाडि परेको उनको दाबी छ । तसर्थ आगामी दिनमा एकसाथ रही दूध उत्पादनमा ध्यान दिन यादवले सम्पूर्ण निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

जिडिपीमा ९ प्रतिशत योगदान रहेको यस क्षेत्रबाट वार्षिक १२ अर्ब रुपैयाँ सहरबाट गाउँतर्फ नगद प्रवाह भएको कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको केन्द्रीय दुध सहकारी संघका अध्यक्ष नारायण देवकोटा बताउँछन् । उनका अनुसार मुलुककमा करिब ४ हजार मेट्रिकटन धूलो दूध वार्षिक खपत हुने हुँदा व्यवसायीले त्यसतर्फ ध्यान दिनु आवश्यक रहेको औंल्याएका छन् ।



यसका साथै सरकारले सरल तथा सहज रूपमा कृषि लोन प्रवाह गर्नु उत्तिकै आवश्यक रहेको पनि उनले बताए । त्यस्तै, पछिल्लो समय डेरी उद्योगहरूले कृषकबाट दुध खरिद गरेबापत उनीहरूलाई भुक्तानी नगरेको विषय आइरहँदा जतिसक्दो चाँडो कृषकलाई रकम भुक्तानी गर्न अध्यक्ष देवकोटाले आग्रह समेत गरेका छन् । 

विगतमा लकडाउनको समयमा मुलुकभरका कृषकबाट डेरी उद्योगहरूले करिब १ अर्ब रुपैयाँ बराबरको १ करोड २० लाख लिटर दूध खरिद गरेको नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्र बजगाँईले स्वीकारेका छन् ।



उक्त दूध संकलन गरी ९ सय टन धुलो दुध तथा ६ सय टन बटर उत्पादन गरी आयात प्रतिस्थापनमा योगदान पुर्‍याएको उनले जनाएका छन् । दूध खरिद गरी उत्पादित सामग्री हालसम्म पनि भण्डारणमै रहेको र बजारमा नगएको हुँदा भुक्तानी प्रणालीमा केही समस्या आएको बजगाईँले बताएका छन् । यद्यपि चाँडै नै कृषकलाई आफूले खरिद गरेको दूधको भुक्तानी प्रदान गर्ने उनले स्पष्ट पारे । 

कृषि प्रधान देशका रूपमा परिचित रहे तापनि नेपालले विभिन्न मुलुकबाट वार्षिक खर्बौं रुपैयाँको कृषिजन्य वस्तु आयात हुने गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा २ खर्ब २० अर्ब रुपैयाँ बराबरको कृषि वस्तु आयात भएको थियो । त्यसमध्ये २ अर्ब २० करोड रुपैयाँको दूध तथा दूध जन्य उत्पादन आयात भएको तथ्यांक रहेको छ । तर केही समय अघिसम्म यस्तो आयात करिब १३ अर्ब रुपैयाँ बराबरको रहेको छ ।  

मौसम अनुसारको दूधको उत्पादनको कारण जाडो महिनामा (असोज–फागुन) सम्ममा उत्पादन बढी भई किसानको दूधले बजार नपाउने अवस्थामा र गर्मी महिना (चैत्र–भाद्र) सम्मको दूधको अभाव भई आयातित दूध जन्य पदार्थमा निर्भर हुनु परेको संघको भनाइ छ । नेपालमा दूध तथा दूध जन्य पदार्थको आयाततर्फ हेर्दा भारत तथा तेस्रो मुलुकबाट उक्त २ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको पछिल्लो अवस्था रहेको छ ।

यसरी फ्ल्स सिजनमा बढी हुने दूधलाई व्यवस्थापन गरी मुलुकभित्र सञ्चालन रहेका डेरीहरूले त्यसलाई धुलो दूधमा परिणत गरी व्यवस्थापन गर्दै आएका छन् । तर धुलो दूध बनाउँदा उद्योगहरूको लागत खर्च समेत बढी हुने गरेको छ ।

अन्तर्राष्ट्रिय धुलो दूधसँग प्रतिस्पर्धी बनाउन अल्पकालीन रूपमा प्रतिलिटर ६ रुपैयाँ ढुवानी अनुदान र दीर्घकालीन रूपमा सिजनल प्राइसिङ प्रक्रिया अर्थात् जाडोमा सस्तो र गर्मीमा महंगो गर्नु आवश्यक रहेको हुँदा डेरी उद्योगीले सरकार समक्ष यसका लागि अपिल गरेका छन् ।

हाल नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी सञ्चालन रहेका छन् ।

  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १८:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया