कोरोनाको तेस्रो लहर रोक्न सुर्खेतको योजना : घर तथा टोलमै स्वाब संकलन

कोरोना भाइरसको तेस्रो लहरबाट क्षति रोक्न सुर्खेतमा कार्ययोजना तयार गरिएको छ । कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्‍याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले प्रदेशमै पहिलो पटक कार्ययोजना तयार गरेका छन् । कार्य योजनामा घर तथा टोलमै पुगेर पिसिआर स्वाब लिइनेदेखि ठूला-ठूला अक्सिजन प्लान्ट स्थापनाका लागि सिफारिस गरिएको छ । 

जसमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट तोकिएको छ । चार जना चिकित्सक, चार जना नर्स र चार जना पारामेडिक्सको टोली जतिसुकै बेला पनि तैनाथ हुने र त्यसको व्यवस्था स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने तोकिएको छ ।

तेस्रो लहरबाट बालबालिकाहरू बढी जोखिम हुने भनिएकाले प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा एचडियु बेड लगायत औषधी र उपकरणहरू तयारी अवस्थामा राख्न र त्यसको व्यवस्था प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने भनिएको छ । 

अबको एक महिना भित्र आवश्यक औषधी खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधीको कमी भएकाले एकैपटक कम्तीमा ३ सय जनालाई पुग्ने गरी व्यवस्था गर्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्था नभएकाले सुर्खेतमै गर्नुपर्ने, कम्तीमा सय अक्सिजन सिलिन्डर व्यवस्था गर्नुपर्ने, सुर्खेत जिल्ला बाहिर एउटा अक्सिजन फिलिङ प्लान्ट स्थापना गर्नुपर्ने, प्रदेश अस्पतालमा थप एउटा प्लान्ट बनाउनुपर्ने, घर तथा टोलमै पिसिआर स्वाब लिने व्यवस्था मिलाइनुपर्ने, एम्बुलेन्स तथा शव वाहन तयारी अवस्थामा राख्नुका साथै चालकहरूलाई स्वास्थ्य सुरक्षा सावधानीका बारेमा सचेत गराउनुपर्ने र कोभिड नियन्त्रण र रोकथामबारे सबै तहलाई व्यापक जानकारी र प्रचार-प्रसार गर्ने कार्य योजनामा समेटिएको छ । 

कार्ययोजनामा उल्लेख भएका कामहरू प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, उद्योग वाणिज्य संघ, रेडक्रसलगायतले गर्ने उल्लेख गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्ययोजना प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी रिजालले कोभिडको तेस्रो लहर आउनु अघि नै कार्ययोजना तयार भएकाले यसैका आधारमा रोकथाम तथा नियन्त्रणका काम गर्न सहज हुने बताए । उनले विगतमा पूर्व तयारी नहुँदा क्षति भोग्नुपरेको भन्दै तेस्रो लहरमा भने कमी आउने विश्वास व्यक्त गरे । 



जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले तेस्रो लहर अघि नै पूर्व तयारी भएकाले सरोकारवाला निकायहरूलाई काम गर्न सहयोग पुग्ने बताए । उनले सबै पक्षले कार्ययोजना अनुसार काम गरे तेस्रो लहर रोकथाम गर्न सकिने दाबी गरे ।

कार्ययोजना तयार समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले करिब दुई साताको अवधिमा कार्ययोजना तयार पारिएको बताए । कार्ययोजना निर्माण गर्दा जिल्ला जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय, रेडक्रस, उद्योग वाणिज्य संघ र पत्रकार महासंघ पनि समेटिएको थियो ।



  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १४:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया